काठमाडौं, १३ कात्तिक । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवि पत्रकारहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघले लेखनवृत्तिसहितको वैकल्पिक व्यवस्था गर्न माग गरेको हो ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ ।
महासंघले सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।
त्यसैगरी महासंघले दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवनबिमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ । महासंघमा सदस्यता नविकरण भएसँगै स्वतः बिमा हुने व्यवस्था गर्न र सरकारी अस्पताल/स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्न पनि महासंघले आग्रह गरेको छ ।
प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०२:३४




