नवलपुर
नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागी बिहिबार फेरी अर्को नयाँ रुटको सुरुवात गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत गैडाकोटमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निकुञ्ज भित्रबाट निर्माण गरिएको करिब ३७.१ किलोमिटर पर्यटन मार्गको बिहिबारबाट औपचारिक सुरुवात गरिएको जंगल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जले माघ ११ गते पश्चिम सेक्टर अन्तर्गतकै अमलटारीबाट चितवन राष्ट्रिय निकुञ्जमा सफारीको लागी पाँच वटा जिपको अनुमति दिईसकेको छ । यसले गर्दा यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन मार्ग निर्माण गर्दा गैंडाकोट नगरपालिका वडा नं १७ को ५ लाख सहयोग र होटल व्यवसायीहरुको १६ लाखको लगानी गरेर कुल २१ लाख खर्च भएको छ । निकुञ्ज भित्र जंगल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एक सिङ्गे गैँडा धेरै संख्यामा देखिने अध्यक्ष धितालले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मी सहितको सहभागितामा यहि रुटबाट पहिलो पटक गरिएको जंगल सफारीको क्रममा १४ वटा एक सिङ्गे गैँडा फेला परेको थियो । यो मार्गले निकुञ्ज भित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्न समेत उल्लेख्य सहयोग पुर्याउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।
यस अघि दुई होटल टेम्पल टाइगर र थारु भिलेजले मात्र नवलपुरबाट निकुञ्ज भित्र सफारीका अनुमति पाएका थिए भने अन्य होटल तथा होमस्टेले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जंगल सफारी गराउदै आएका थिए । अब भने निकुञ्जले सफारीको अनुमति दिए सगै आन्तरीक तथा बाह्य पर्याटकले नवलपुरबाटै सहजै र सस्तोमा निकुञ्ज घुम्न पाउने छन् । पहिलोपटक खोलेको नया मार्गमा यतिधेरै जनावर र तिनका सन्केत मिल्नु यस मार्गको लागी निकै राम्रो भएको साहायक संरक्षण अधिकृत तथा निकुञ्जका सुचना अधिकारी गणेश तिवारी बताउछन् ।
चितवन राष्ट्रिय निकुञ्जको पुर्वी खण्ड सौराहा लगायतमा मानिसको चहलपहल बढे सगै निकुञ्जका वन्यजन्तु पश्चिम तिर धेरै भएकोले पनि नवलपुर क्षेत्र मार्फत सफारी गर्दा धेरै वन्यजन्तु देख्न पाईने व्यवसायी बताउछन् ।
प्रकाशित मिति २०७९ चैत ११ गते शनिबार ११:१४



