२०८३ साउन २१ गते बिहीबार

चैते दशैंमा देवीको आराधना गरिँदै

चैते दशैंमा देवीको आराधना गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १५ गते बुधबार ०७:१२

पोखराको विन्ध्यवासिनी, भद्रकाली, वाराही, बागलुङको कालिका मन्दिर लगायत देश भरका शक्ति पीठमा आज भक्तजनको भीड लाग्ने गर्दछ ।

पोखरा

आज चैते दशैं । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैते दशैं मनाइँदै छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने चलन छ । नवरात्रको पूरै विधि नगर्नेले भने आज अष्टमीमा देवीको आराधना गर्ने गर्दछन् ।

वर्षमा चारवटा नवरात्र हुने भएपनि शारदीय र वासन्ती नवरात्रको महत्व रहेको धर्मशास्त्री विदहरुको भनाइ छ । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताउने गरिएको छ ।

चैते दशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने चलन छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने गरिन्छ । पोखराको विन्ध्यवासिनी, भद्रकाली, वाराही, बागलुङको कालिका मन्दिर लगायत देश भरका शक्ति पीठमा आज भक्तजनको भीड लाग्ने गर्दछ ।

पुराना कथनहरूका अनुसार, पहिले–पहिले मुख्य दशैं नै चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको भोजनले धेरै जना बिरामी परेपछि दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । चैते दशैंलाई कतिपय ठाउँमा सानो दशैं भन्ने चलन पनि छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन रहेको छ ।

 

प्रकाशित मिति २०७९ चैत १५ गते बुधबार ०७:१२
हजुरको प्रतिक्रिया