२०८३ साउन २१ गते बिहीबार

एसइई परीक्षामा कास्कीबाट १० हजार ४ सय ४२ सहभागी

एसइई परीक्षामा कास्कीबाट १० हजार ४ सय ४२ सहभागी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १६ गते बिहीबार ०७:४५

कास्कीमा २१ जना सुस्त श्रवण र १२ दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

गण्डकी प्रदेशमा ४३ हजार १ सय ६४ जना परीक्षार्थी

पोखरा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारदेखि सुरु हुँदैछ । एसइईमा कास्की जिल्लाबाट १० हजार ४ सय ४२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कास्कीका २ सय ९१ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएको शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार एसइई ८६ जना ग्रेड वृद्धिका विद्यार्थी सहभागी छन् भने प्राविधिक धारका २ सय ९ जना सहभागी छन् ।

कास्कीमा २१ जना सुस्त श्रवण र १२ दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । कास्कीमा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । ३२ वटा परीक्षा केन्द्र पोखरा महानगरपालिका भित्र रहेउको पोखरा महानगर शिक्षामहाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।

अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा एक÷एक वटा परीक्षा केन्द्र रहेको सुवेदीले बताए । परीक्षाको तयारी पूरा भएको र परीक्षालाई आवश्यक सामग्री केन्द्रहरुमा पुगिसकेको सुवेदीले जानकराी दिए । एसइईको प्रश्नपत्र भने पायक पर्ने प्रहरी कार्यालयमा राखिएको छ भने प्रहरीको समन्वयमा केन्द्रध्यक्षसहित केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेशमा ४३ हजार १ सय ६४ जना परीक्षार्थी सहभागी हुँदैछन् । ती मध्ये ४१ हजार ५ सय १६ नियमति, १ हजार ३ सय ७६ प्राविधिक धार र २ सय २७ ग्रेड वृद्धिका परीक्षार्थी रहेको शिक्षा विकास निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले जानकारी दिए । उनका अनुसार गण्डकीमा २ सय २३ परीक्षा केन्द्र रहेका छन् ।

यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । एसइई परीक्षामा २ लाख ६० हजार ६ सय ७४ छात्र र २ लाख ५५ हजार ९ सय १७ छात्रा सहभागी हुने भएका छन् ।

परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र तोकिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । गण्डकी प्रदेशमा २ सय २३ परीक्षा केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानमा श्रम गर्न गएकाका छोराछोरीले जापानबाट एसइई दिन लागेका हुन ।

अघिल्लो वर्षको एसइईमा ५ लाख १८ हजार १ सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए । विद्यार्थीले भोलि शुक्रबार अंग्रेजी विषयको परीक्षा दिनेछन् ।

 

प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०७:४५
हजुरको प्रतिक्रिया