२०८३ साउन २१ गते बिहीबार

शान्ति श्रेष्ठ हत्या प्रकरण: कारगारबाट छुटेको २ वर्षमा फेरि हत्या

शान्ति श्रेष्ठ हत्या प्रकरण: कारगारबाट छुटेको २ वर्षमा फेरि हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १७ गते शुक्रबार ०३:०७

सुनारले कास्कीको जैकोट सामुदायिक वनमा स्याङजाकी महिलाको हत्या गरेपछि कर्तव्य ज्यान मुद्वामा १० वर्ष कैद भुक्तान गरेर २०७७ फागुन ७ गते कारागारबाट छुटेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए ।

पोखरा

तनहुँमा भएको शान्ति श्रेष्ठ हत्या प्रकरणमा पक्राउ परेका अभियुक्त कर्तव्य ज्यान मुद्वामा कैद भुक्तान गरेर छुटेको खुलेको छ । पोखराको अमरसिंहचोकमा फलफुलको व्यापार गर्ने श्रेष्ठको हत्या अभियोगमा प्रहरीले काभ्रेको पाँचखाल–५ घर भइ पोखराको घारीपाटन बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई तनहुँको थप्रेकबाट बुधबार पक्राउ गरेको थियो ।

सुनारले कास्कीको जैकोट सामुदायिक वनमा स्याङजाकी महिलाको हत्या गरेपछि कर्तव्य ज्यान मुद्वामा १० वर्ष कैद भुक्तान गरेर २०७७ फागुन ७ गते कारागारबाट छुटेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए ।

हत्या भएकी श्रेष्ठ र सुनारको त्यसलगत्तै भेट भएको थियो । सम्बन्ध घनिष्ठ भएपछि यि दुुईबीच आर्थिक लेनदेनसमेत हुन थाल्यो । २ महिना अगाडि शान्तिले छोराको उपचार गर्नलाई लिएको सापटी १० हजार रुपैयाँ फिर्ता नगरेपछि सुनारले हत्या गरेको अनुसन्धानबाट खुलेको विष्टले बताए ।

फागुन २१ गतेदेखि श्रेष्ठ वेपत्ता थिइन । सोही दिन इट्टाले टाउकोमा प्रहार गरी सुनारले हत्या गरेर तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पिपलटारमा खानेपानी ट्याङकीभित्र शव फालेका थिए ।

खानेपानी धमिलो र दुर्गन्धित भएपछि गत सोमबार ट्यांकी खुलेर हेर्दा उपभोक्ता समितिले किरा परेको अवस्थामा शव फेला पारेको थियो । हत्या गरेर सुनारले श्रेष्ठले लगाएको गरगहनासमेत लुटेका थिए ।

हत्यापछि सुनारले श्रेष्ठले लगाएको गहना पोखराको महेन्द्रपुलमा सञ्चालित रजनी सुनचाँदी पसलमा लगेर विक्री गरेका थिए । लुटेको गहना खरिद गर्ने सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।

प्रकाशित मिति २०७९ चैत १७ गते शुक्रबार ०३:०७

हजुरको प्रतिक्रिया