पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ र ९ नम्बर वडामा पर्ने घलेल गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले चलचित्र पत्रकारिता कार्यशाला गरेको छ ।
सोमबार र मंगलबार कन्टेन्ट राइटिङ, रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको कार्यक्रम संयोजक सुरेश सुनारले जानकारी दिए ।
पोखराका र काठमाडौंका मिडियाका लागि पोखराबाट काम गर्ने ५० जनाभन्दा बढी पत्रकारलाई पत्रकार नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले प्रशिक्षण दिएका हुन् ।
कार्यशालाको पहिलो दिन घलेल सामुदायिक होमस्टे र समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन क्षेत्रलाई सिनेमामार्फत कसरी टेवा पुयाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले चलचित्र पत्रकारितामार्फत घलेल गाउँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा रहेको बताए । उनले गाउँपालिकामा भएका छायाँकन स्थललाई संरक्षण गर्दै सिनेमा छायांकनलाई बढवा दिन सहज नीति निर्माण गर्नेतर्फ जोड गरिने उल्लेख गरे ।
माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले सम्भावना भएर पनि प्रचारको अभावले घलेल गाउँ पछाडि परेको बताए । उनले घलेल गाउँको प्रवद्र्धनका लागि बेलाबखत यस्ता कार्यक्रमहरु भइराख्नुपर्ने धारणा राखे । फिल्ममार्फत विविध विषयवस्तुहरु पस्किन सक्ने हुँदा यसको महत्वपूर्ण भूमिका रहेको भनाइ उनको थियो ।
चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता क्षेत्रलाई विस्तार गर्न संघ लागि परेको बताए । कार्यशालामा पत्रकार नारायण अमृतले गसिपका विषयमा, सरेश रानाभाटले रिभ्युका विषयमा र केशव शरण लामिछानेले कन्टेन्टका विषयमा प्रशिक्षण गरेका थिए ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले पर्यटकीय गाउँ घलेल सामुदायिक होमस्टेमा कार्यशाला हुनुले त्यस ठाउँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराउँदै संघको गतिविधि निरन्तर भइरहेकोप्रति खुसी व्यक्त गरे । संघले आगामी दिनमा पोखरामा चलचित्र पत्रकारितालाई बढ्वा दिन विविध कार्यक्रम गर्दै जाने संघका सचिव सन्तोष बस्यालले बताए ।
२०६७ सालमा होमस्टे स्थापना भएको घलेल गाउँ पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको ठाउँ हो । होमस्टेलाई प्रचारको आवश्यकता रहेको घलेल सामुदायिक होमस्टेकी सचिव सुनकुमारी गुरुङले बताइन् ।
उनले घलेल गाउँमा आयोजना गरिएको कार्यशाला मार्फत उक्त ठाउँको प्रचारमा टेवा पुग्ने विश्वास लिएकी छिन् । नजिकैको गाउँ ल्वाङ पर्यटकीय रुपमा अगाडि बढ्दा घलेल भने जहाँको त्यही रहेको धारणा उनको छ । हाल घलेलमा ९ घरमा होमस्टे संचालन गरिएको छ ।
घलेल सामुदायिक होमस्टेले सहभागीहरुलाई पञ्चेबाजासहित स्वागत गरेको थियो । कार्यशालालाई सम्पन्न गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, परिचय एड्भटाइजिङ र होटल पुस्करलगायतले सहयोग गरेका थिए ।
प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०६:४४




