२०८३ साउन २१ गते बिहीबार

२ करोड मागेका कस्केली सांसद ढाका रास्वपाबाट निलम्बित

२ करोड मागेका कस्केली सांसद ढाका रास्वपाबाट निलम्बित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २६ गते आइतबार ०८:२८

रास्वपाले सो विषयमा छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ । 

पोखरा । मेडिकल व्यसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालका लागि निलम्बन गरेको छ ।

आइतबार अडियो बाहिरिएलगत्तै सांसद र पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न-नगराउन पार्टीले उनलाई र पार्टीभित्रको समितिलाई निर्देशन दिएको छ ।

रास्वपाले सो विषयमा छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

मन्त्री बन्ने भए साढे २ करोड रुपैयाँ बुझाउन पार्टी सभापति निकट नेताले भनेको भन्दै सांसद श्रेष्ठले पैसा मागेका हुन् । गत माघमा भएको कुराकानीको अडियोमा श्रेष्ठले प्रसाइसँग मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्नेसमेत बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भागमा परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । जवाफमा प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।

श्रेष्ठ यसअघि पनि विवादमा परेका व्यक्ति हुन् । पोखराको साथी किसान सहकारीमा पैसा हिनामिना गरेको आरोप श्रेष्ठलाई लागेको थियो । श्रेष्ठ सहकारीको अध्यक्ष हुँदा हिसाब मिलान नगरेको सेयर सदस्यहरुको गुनासो थियो । श्रेष्ठ त्योभन्दा अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए ।

स्वतः स्थायी गर्नुपर्ने मागसहित श्रेष्ठको नेतृत्वमा आन्दोलन भएको थियो । तर, अस्पताल प्रशासन नमानेपछि श्रेष्ठ विशेष कारण देखाउँदै अस्पतालबाट बिदा भएका थिए । समानुपातिक सूचीबाट सांसद बनेका उनलाई दलको सदस्यबाट निष्कासन गरे सांसद पद जाने छ । पार्टीले उनलाई हटाएमा जनजाति क्लष्टरको दोस्रो नम्बरमा रहेका मेघ आले सांसद हुन सक्ने छन् ।

प्रकाशित मिति २०७९ चैत २६ गते आइतबार ०८:२८
हजुरको प्रतिक्रिया