पोखरा
पोखरा हेमजामा आलु महोत्सव सुरु भएको छ।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु भएको हो। महोत्सवको उद्घाटन आइतबार गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले गरे।
महोत्सव सुरु हुनुपूर्व मिलन चोकबाट महोत्सव स्थल विष्णुपादुका खेल मैदानसम्म कृषि झाँकी सहित शोभा यात्रा निकालिएको थियो। उक्त शोभा यात्रामा सयौँ हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो गरे।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध साँस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम हुनेछ।
महोत्सवमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गर्दै छ। कोभिड–१९ संक्रमणका कारण विगत तीन वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो। महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ। ४० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ।
प्रकाशित मिति २०७९ चैत २६ गते आइतबार ०५:२७




