१० महिनामा पुनःनिर्माण सक्ने लक्ष्य
पोखरा । पोखरेली पर्यटनको पर्यायवाची फेवाताल । विशाल फेवातालबीच आश्चर्य लाग्दो थुम्कामा तालबाराही मन्दिर छ। पोखरा आएका हरकोही डुुंगा शयर गर्दै तालबाराही मन्दिर दर्शन गर्न पुग्छन् । प्यागोडा शैलीको तालबाराही मन्दिरलाई यतिबेला धमाधम भत्काइदैछ । भुकम्पको धक्काले चर्काएको मन्दिर ७ वर्षपछि पुननिर्माण गर्न भत्काइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवर बताए । भुकम्प अगावै पनि मन्दिरको दक्षिणतर्फ रहेको आँपको बोट सुक्दा त्यसका जराको असरले मन्दिर चर्किनुको साथै ३ इन्च ढल्किएको थियो ।
तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरातत्व विभाग र गुठी संस्थानसँग सहकार्य गरेर मन्दिरको जिर्णोदार सुरु गरिएको छ । इन्जिनियर, पुरातत्वविद्को अनुगमन, भौगोलिक अवस्था अध्ययनपछि पुननिर्माण सुरु गरिएको हो । मन्दिरको पुनःनिर्माण शुरू गर्नुअघि २ दिनसम्म क्षमापूजा गरेर मूर्तिहरू सारिएको छ । अबको १० महिनामा पुननिर्माण सक्ने लक्ष्य छ ।
मन्दिरका पुराना पुरातात्विक महत्वसँग जोडिएका सामग्री प्रयोग गर्ने शर्तसहित पुननिर्माणमा एक करोड ४४ लाख रुपैयाँ खर्च हुने लागत अनुमान गरिएकोमा पुरातत्व विभागले २५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिदिएको छ । मन्दिर गुठी व्यवस्थापन समितिसँग पनि बजेट नहुँदा रकम अपुग हुने भएपछि मन्दिर दर्शन गर्न आउने दर्शनार्थीसँग सहयोग उठाउन थालिएको छ । भक्तजनबाट झन्डै ७५ लाख रुपैयाँ मन्दिर पुननिर्माणमा सहयोग गरिसकेको समितिका उपाध्यक्ष परशुराम पहारी जानकारी दिए ।

मन्दिर भत्काउने क्रममा निकालिएका काठपात पुरातत्व विभागबाट खटिएका कर्मचारीले ‘नम्बरिङ’सँगै मुचुल्का उठाएर सुरक्षित राखिएको छ । तिनै काठपातको प्रयोगले मन्दिर पुननिर्माण गर्न १ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरेपनि काम नलाग्ने गरेर कुहिएकाले लागत बढ्ने देखिएको समितिका सचिव धुर्वराज बरालले बताए ।
मन्दिरको पुननिर्माण थालेसँगै वृहत गुरुयोजना बनाउन इञ्जिनियर डा. भरतराज पहरीको संयोजकत्वमा ७ सदस्यीय इञ्जिनियहरुको समिति नै बनाइएको छ । पटकपटक भत्काउने, बनाउनुभन्दा गुरुयोजना अनुसार काम गर्ने उदेश्य तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले लिएको छ ।
आस्थाको धरोहरको रुपमा रहेको तालबारही मन्दिर विक्रम संवत १४४७ सालमा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ । भत्काउँदै गरेको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण गरिएको जानकारहरु बताउँछन् । राजा महेन्द्र पोखरा आएको बेला जिर्णोदार गर्न पहल गरेपछि प्यागोडा शैलीमा २ तले मन्दिर बनाइएको थियो ।
प्रकाशित मिति २०७९ चैत २८ गते मंगलबार ०९:३४



