काठमाडौं
शीर्ष तीन दलले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतीमा टुंग्याउन पहल शुरु गरेका छन् । शीर्ष दलहरु नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) ले संसदमा रहेको संक्रमणकालिन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ लाई सहमतिमा पारित गर्नका लागि आपसी छलफल प्रारम्भ गरेका हुन् ।
सो विधेयकलाई टुंगोमा पुर्याउने सन्दर्भमा मंगलवार बालुवाटारस्थित सभामुख निवासमा दलका शीर्ष नेताहरुले बैठक गरेका छन् । बैठकमा विधेयकको सम्बन्धमा कसरी अगाडी जाने र कुन प्रक्रियाबाट विधेयकलाई पारित गर्ने भन्ने विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
यद्यपी दलहरुका बीचमा सहमति जुटी नसकेकाले आगामी बैठकमा सहमतिका लागि प्रयास गरिने उनले बताए । त्यस्तै दलहरुले संसदको संयुक्त समिति र विषयगत समितिलाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा पनि छलफल गरेको उनले जानकारी दिए । यि दुवै विषयको टुंगो लगाउन आगामी वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा पुनः बैठक बोलाइएको प्रमुख सचेतक गिरीले जानकारी दिए ।
नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले सबै विषयहरुलाई सहमतिमा टुंग्याउने प्रयास भएको बताए । मंगलबार समय अभावका कारण निर्णय हुन नसकेकाले आगामी बैठक राखिएको सुनाए ।
बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए ।
प्रकाशित मिति २०७९ चैत २८ गते मंगलबार ०५:००




