राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।
आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णयसमेत गरेको छ ।
समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो ।
बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।
बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।
उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।
पार्टीलाई चारतिरबाट प्रहार गरिएको र तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजनाका साथ अडियो सार्वजनिक गरिएको ढाकाले बताए ।
श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने दाबी गरे ।
अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा मागेका छन् ।
करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् ।
पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उनले जवाफ दिएनन् ।
उनले आफू यसबिरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने सुनाए ।
प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०८:३६




