पोखरा । माओवादी केन्द्रले चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारको आयु वैशाख १० गतेसम्म छ ।
कार्यकाल सकिनुअघि मुख्यमन्त्री अधिकारीलाई मोटरेबल पुल उद्घाटन गर्न भ्याइनभ्याइ छ । उनले ११ देखि १९ महिनाअघि नै निर्माण सकिएका १० वटा पुल दुई दिनमा उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री अधिकारीले बिहीबार पोखरा महानगरपालिकाभित्रका ४ वटा र माछापुच्छ्रे गाउँपालिकाको एउटा पुल उद्घाटन गरे । पछिल्लो ५ दिनमा उद्घाटन गरिएका जति पनि पुल छन्, ती हालसालै निर्माण सकिएका नभई एक वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आइसकेका हुन् ।
मुख्यमन्त्री अधिकारीले चैत २५ गते मादी गाउँपालिकाको मकै खोला, इदी खोला, वार्दी खोला, घुम्ले खोला र पोखराको खुदी खोला पुल गरेर एकैदिन पाँच वटा पुलको उद्घाटन गरेका थिए । इदी खोलाको पुल गत असारमा सकिए पनि अरू पुल २०७८ सालमै निर्माण सकिएका हुन् ।
चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । उनले वैशाख ९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्छ ।
२२ सांसदमात्र भएकाले ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले बहुमत ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन । तर, पदमुक्त हुनुअघि पुल उद्घाटनको गति भने निकै द्रुत गतिमा बढेको हो ।
प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार १०:३९




