माइनस १५ डिग्रीसम्मको तापक्रममा फलफूल, तरकारी ढुवानी गरिने
पोखरा
कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । ३६ लाख रूपैयाँ लागत पर्ने एम्बुलेन्स महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनासँगको सहकार्यमा ल्याइएको एम्बुलेन्सको महानगर प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे । यो एम्बुलेन्सले माइनस १५ डिग्रीसम्मको तापक्रममा फलफूल, तरकारी, मासुजन्य पद्धार्थ, खोप पनि ढुवानी गर्न सक्छ ।
यो एम्बुलेन्समा किसानले आफ्नो उत्पादन ढुवानी गरेबापत लाग्ने शुल्क छिट्टै निर्धारण गरिने महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । गाउँगाउँमा रहेका कृषि उत्पादनलाई महानगरपालिकाले सञ्चालन गरेका किसान बजार र माग हुने ठाउँमा पुर्याइने उनले बताए ।
मेयर आचार्यले अहिले ल्याइएको कृषि एम्बुलेन्स कति प्रयोग हुन्छ त्यो हेरेर अर्को पनि आवश्यक भए ल्याउने बताए । कृषि उत्पादन बढाउन खाली रहेका भूमिलाई प्रयोग गर्न भूमि बैंक योजना अघि बढाउने तयारी रहेको उनले सुनाए ।
प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार १२:१४




