२०८३ साउन २१ गते बिहीबार

बैंकिङ कसुरका मुद्वा बढेको बढ्यै

बैंकिङ कसुरका मुद्वा बढेको बढ्यै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३ गते आइतबार ०८:४८

साउनदेखि चैत १५ गतेसम्म कास्कीमा ३२८ बैंकिङ कसुरका मुद्वा दर्ता भएको छ ।

पोखरा

कास्की प्रहरीले फागुन १४ गते सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लाभर बैंकिङ कसुरका मुद्वा २१५ दर्ता थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीमा ८२६ मुद्वा दर्ता थियो ।

आइतबार कास्की प्रहरीले पत्रकार सम्मलेन गरेर आफ्ना गतिविधी सार्वजनिक गर्दा ११३ बैंकिङ कसुरका मुद्वा थपिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले दिएको जानकारी अनुसार साउनदेखि चैत १५ गतेसम्म कास्कीमा ३२८ बैंकिङ कसुरका मुद्वा दर्ता भएको छ । १९९ पर्छयौट हुँदा १२९ मुद्वाको छिनोफानो लाग्न बाँकी छ ।

आम सर्वसाधरणमा बैंकिङ सेवाको पहुँच जसरी बढेको छ, त्यसैगरी बैकिङ कसुर मुद्वाको ग्राफ उकालो चढेको प्रहरीको तथ्याङ्कले देखाउँछ । कास्कीमा बैंकिङ कसुरका घटना बर्षेनी बढ्दो छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्षको साढे ८ महिनामै दोब्बरले मुद्वा बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा १४९ मुद्वा परेको थियो । २०७७/७८ मा १०० र २०७६\७७ मा ९७ मुद्वा दर्ता थिए ।

आर्थिक मन्दीका कारण बैकिङ कसुरका मुद्वा बढेको प्रहरी नायव उपरिक्षक विकले बताए । बैंकिङ कसुरमा बढी चेक बाउन्सको मुद्वा पर्ने उनले बताए । चेकमा उल्लेख गरेका रकम नहुने र खाता बन्द भइसकेका चेक दिने घटना बढी रहेको उनको भनाई छ ।

‘त्यस्ता मुद्वालाई हामीले २ तवारबाट समाधानको कोशिस गर्छौैं’, उनले भने, ‘मिलापत्र हुन सक्ने अवस्थामा मिल्नुस भन्छौं । त्यसबाट पनि समस्या समाधान भएन भने मुद्वा दर्ता भएर कानुनी प्रकृया अनुसार अगाडी बढ्छ ।’ चेक बाउन्सका कतिपय मुद्वा अदालतमा पनि दर्ता हुने गरेको प्रहरी नायव उपरिक्षक विकले बताए ।

वर्षेनी बढेको मात्रै छैन, प्रहरीमा दर्ता भएका मुद्वाको सबैभन्दा धेरै संख्या नै बैंकिङ कसुरको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार २२३ मुद्वा दर्ता भएकोमा २६.८१ प्रतिशत मुद्वा त बैंकिङ कसुरका हुन् ।
स्थानीय तहको सहकारी शाखा र न्यायिक समितिमा पनि बैंकिङ कसुरसँग मिल्दोजुल्दो उजुरी परिरहेका छन् ।

प्रकाशित मिति २०८० वैशाख ३ गते आइतबार ०८:४८
हजुरको प्रतिक्रिया