पोखरा । कास्की २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या भट्टराईले सिद्धार्थ राजमार्गअन्तर्गत पोखराको छोरेपाटन–बिरौटा सडकखण्ड निर्माणमा ढिलाइ भएकोमा सरकारको ध्यानाकर्याण गराएकी छन् ।
छोरेपाटन–बिरौटा सडकको धुलो आजित स्थानीयले विभिन्न समयमा विरोधसमेत गर्दै आएका थिए । ठेक्का सम्झौताअनुसार निर्माण सकिइसक्नुपर्ने बेला अझै अधकल्चो छ । एक दशमलव आठ किलोमिटर सडक निर्माणका लागि रामसागर विल्डर्सलाई ४ वर्षअघि ठेक्का दिइएको थियो । तर, उसको ढिला सुस्तीले स्थानीयले सास्ती खेप्नुपरेको भन्दै मंगलबार सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
धुलाम्य सडक र निर्माणमा भएको अवरोधले स्थानीयको स्वास्थ्यमा समस्या भएको तथा दैनिक रुपमा आवतजावत गर्न कठिनाइ भएको उनको भनाइ थियो ।
सांसद भट्टराईले तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाड उडान नसक्नुका कारणको जवाफ दिन सरकारसँग माग गरेकी छिन् । तुँवालो र धुलो, धुँवाका कारण भन्दै ३ दिनदेखि पोखराबाट उडान हुन सकेको छैन ।
सामान्य तुँवालो लाग्दा पनि उडान रोकिनुको कारणको संसदमा जवाफ दिन भट्टराईले सरकारसँग माग गरेकी हुन् ।
प्रकाशित मिति २०८० वैशाख ५ गते मंगलबार ०८:२५




