१० बजेपछि एकतर्फी खुल्ने सम्भावना
पोखरा
सडक भासिएपछि सोमबार दिउँसो ४ बजदेखि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रुको बिचल्ली भएको छ । धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको हो । सोमबार दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रु मर्कामा परेका छन् । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका हुन् । कोही नजिकै रहेका आफन्तकोमा गएपनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाउन बाध्य भएका छन् ।
प्रहरीका अनुसार सडक खुलाउने प्रयास जारी रहेको छ । सडक भासिएको ठाउँ साघुँराे भएकाले छिटो काम गर्न समस्या भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सडक सञ्चालनउमा ल्याउन अझै केही घण्टा लाग्ने छ । सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा हिजोदेखि नै सडक खुलाउने प्रयास भइरहेको छ ।
पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौं संख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाडौंबाट बाहिरिने सवारी साधानलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । हेटौंडा काठमाडाैं र काठमाडाैं नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोका रुपमा लिन प्रहरीले सुझाएको छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाडौं भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक र पूर्व पश्चिमबाट काठमाडौं आउजाउ गर्नेले हेटौँडाहुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सकिनेछ ।
धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार बिहान १० बजेसम्म एकतर्फी सडक सञ्चालनमा आउने सम्भावना छ । ‘सडक खुलउने काम भइरहेको छ’ उनले भने,‘ १० बजेसम्म एकतर्फ सञ्चालन हुन सक्ने सम्भावना छ, प्रयास जारी छ ।’ सडक खुलेपनि राजमार्गमा सवारी सधानको चाप पर्ने देखिएको छ । हिजो देखि रोकिएका सवारी सधानले सडकमा चाप पर्ने देखिएको हो ।
प्रकाशित मिति २०८० वैशाख १९ गते मंगलबार ०८:२२




