पोखरा
प्राविधिक सीप सिकाउन जोडबल गरिरहेको पोखरा महानगरपालिका–१३ ले विद्यार्थीलाई निशुल्क तालिम सुरु गरेको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै वडाले तालिम आयोजना गरेको हो ।
सीप सिकाएर आत्मनिर्भर बनाउन कम्प्युटर तालिम आयोजना गरेको वडाध्यक्ष किरण बरालले बताए । सूचना प्रविधिको युगमा कम्प्युटर शिक्षा अनिवार्य भएकाले तालिम दिन लागेको उनको भनाइ छ । ‘एसइई दिएर बसको विद्यार्थी घरमा बसिरहेका छन् । उनीहरुलाई सीप सिकाएर व्यस्त बनाउने सोचले तालिम आयोजना गरेका छौं’, उनले भने, ‘कम्प्युटर शिक्षाले स्वरोजगार हुन पनि सहयोग पुग्छ ।’
आधारभूत कम्प्युटरसँगै व्यक्तिगत क्षमता अभिवृद्धि र सामाजिक सञ्जाल व्यवस्थापनबारे समेत विद्यार्थीलाई सिकाइने उनले जानकारी दिए । ‘विद्यार्थीहरुको रुचि र क्षमता अनुसार सिपमुलक तालिम दिँदैछौं’, उनले भने । २ सय जना विद्यार्थीलाई २० दिने तालिम प्रदान गरिनेछ ।
कम्प्युटर तालिम उद्घाटनमा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा जीवन उपयोगी हुने बताए ।





