२०८३ साउन २१ गते बिहीबार

पोखराका स्कुल बसमा विद्यार्थी कोचाकोच (भिडियो)

पोखराका स्कुल बसमा विद्यार्थी कोचाकोच (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २० गते बुधबार ०८:४२

पोखराका निजी विद्यालयले यसरी नै ठेलमठेल गर्दै विद्यार्थीलाई विद्यालयसम्म ल्याउने–लैजाने गरेका छन् ।

पोखरा । पोखराको नयाँबजारस्थित गेफ सेकेण्डरी इंग्लिस स्कुलको ग १ क ६०९९ बसको क्षमता ३३ जनामात्र हो । तर, त्यो बसले दैनिक ५५ देखि ६० जनासम्म विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म ल्याउने–लैजाने गर्छ । जिल्ला ट्राफिक कार्यालय कास्कीसँगको समन्वयमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार पोखराको पृथ्वीचोकमा यो बस रोकेर हेर्दा ५९ विद्यार्थी कोचाकोच थिए । एउटै सिटमा ४ जनासम्म बसिरहेका थिए ।

यो एउटा उदाहरणमात्रै हो, पोखराका निजी विद्यालयले यसरी नै ठेलमठेल गर्दै विद्यार्थीलाई विद्यालयसम्म ल्याउने–लैजाने गरेका छन् । यसको अनुगमन न महानगरपालिका, न प्रशासन, न ट्राफिक प्रहरीले गर्छ । प्रहरीसँग पनि सम्झाइबुझाइ गरेर छोड्ने र जरिवाना गर्नेबाहेक विकल्प छैन ।

महानगरपालिका, प्रहरीले चासो नदेखाएपछि विद्यालयको ध्यानाकर्षण गराउन विद्यार्थी संगठनले बुधबारदेखि पोखरामा नियमित अनुगमन थालेको छ ।

पोखरामा मन्टेश्वरीसहित २ सय भन्दा बढी निजी शैक्षिक संस्था छन् । विद्यालयले यातायात सेवाका लागि अभिभावकसँग ३ सय रूपैयाँभन्दा बढी लिन्छन् । त्यतिमात्रै होइन विद्यार्थी कोचाकोच हुँदा ४ बजे विद्यालय छुट्नेमा घर पुग्दा ६ नै बजिसक्छ । एउटा बस विद्यार्थीलाई घरघरै छोडेर त्यो बस रित्तो हुनै साँझ परिसकेको हुन्छ । बिहान पनि ९ नबज्दै बस घरघरै पुग्छ । तर, त्यो बस विद्यालय पुग्दा १० बजिसकेको हुन्छ ।

प्रकाशित मिति २०८० वैशाख २० गते बुधबार ०८:४२
हजुरको प्रतिक्रिया