२०८३ साउन २१ गते बिहीबार

यो वर्ष कम वर्षा हुने प्रक्षेपण, खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २२ गते शुक्रबार ०२:१५

उनले गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए ।

काठमाडौं

विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् ।

विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षा याममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिए । उनले गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए ।

विज्ञ डा. उप्रेतीले भने, ‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो । अत्यन्तै न्युन वर्षा हो । त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य ह्वात्तै बढेको छ । किनभने यसपटक उत्पादन नहुने देखेपनि व्यापारीहरुले गहुँको मूल्य बढाइसकेका छन् । त्यसको सिधा असर गहुँ आयात गर्नुपर्ने देखियो ।’

यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोवन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यकता औल्याए ।

 

प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०२:१५
हजुरको प्रतिक्रिया