पाेखरा । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जना मजदुरको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा पुरिएका २ जनाको भने जीवितै उद्धार गरिएको छ ।
मृत्यु भएका सबै मजदुर बुलिङ्टार गाउँपालिका वडा नम्बर ४ का रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा बुलिङटार गाउँपालिका ४ का २० वर्षका गोपाल गरङ्जा, चेत बहादुर अस्लामी, तारा बहादुर लुङ्गेली, २८ वर्षीय तुलबहादुर गुरुङ र ४२ वर्षीय तुनबहादुर सारु रहेका छन् ।
जीवितै उद्धार गरिएकामा कुष्ण लुङ्गेली र केवल सिंह लुङ्गेली मगर हेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए ।
पहिरोमा पुरिएका पाँचै जनाको शव करिडोरमै कार्यरत अन्य मजदुरहरु, इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका थिए ।
प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०७:३३




