२०८३ साउन २१ गते बिहीबार

हामीलाई विस्थापित बनाउन खोजे जस्तो छ !

विनोद ढुंगाना

@Public 4K Tv

२०८० जेठ ४ गते बिहीबार १०:३६

‘पहिले त भाडामा सहुलियत थियो । यत्रो बढेपछि त कसरी भाडा तिर्ने ? कसरी खाने, बालबच्चा पढाउने ? गाह्रो भाछ नि त ! आन्दोलन त बाध्यताले गर्नुप¥यो, हामीले रहरले गरेको होइन’, उनले सुनाइन् ।

पोखरा

मधुमाया दाहालले गुजरा चलाउन पृथ्वीचोकको सडकमा वर्षौं फलफूल बेचिन । पोखरा उपमहानगरपालिकाका प्रहरीसँग जोगिएर डोकोमा व्यापार गर्न सजिलो थिएन । पेटको भोकले नगरी सुखै दिएन ।

निर्धक्कले व्यापार गर्र्न उने कुनै दिन पाइनन् । त्रासैत्रासमा फलफूल बेच्नुप¥यो । कति पटक मधुमायाले बिक्री गर्न ल्याएका फलफूल नगर प्रहरीले जफथ गरे, हिसाब छैन ।

ठ्याक्कै १० वर्ष पूरा भयो, मधुमायाले नगरप्रहरीसँग पैठेजोरी खेल्नु नपरेको । घामपानीमा ओत लागेर फलफूलको व्यापार गर्न पाएकी छन् ।

तत्कालिन पोखरा उपमहानगरपालिकाले सडक फुटपाथमा व्यापार गर्नेलाई व्यवस्थापन गर्न पृथ्वीचोकमा हङकङ बजार खोल्न पहल कदमी थाल्यो । २०६९ सालमा हङकङ बजार खुलेपछि मधुमायाले त्यहीं व्यापार गरिरहेकी छन् । तर, १० वर्षपछि फेरि सडकमै फर्किनुपर्ने चिन्ताले उनलाई सताइरहेको छ ।

हङकङ बजार बसेको ७ रोपनी जग्गा कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा छ । सुरुमा २ लाख २४ हजार रुपैयाँमा मिलनप्रसाद तिवारीलाई कृषि सामग्रीले जग्गा भाडामा दिएको थियो ।

अहिले कृषि सामग्र्री कम्पनीले न्यूनतम १२ लाख ५० हजार रुपैयाँ तोकेर टेन्डर आह्वान गरेपछि चर्को भाडा तिर्नुपर्ने आशंकाले मधुमायाको निद हराम गराएको छ । त्यसैले त मधुमाया महिना दिनदेखि नारा लगाइरहेकी छन्, ‘विचौलिया प्रथाको अन्त्य गर, उचित भाडादर कायम गर ।’

बुधबार मधुमायासँगै हङकङ बजारमा व्यवसाय गरिरहेका व्यवसायी कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय पोखरामा नाराबाजी गर्दै थिए । पोखरा हङकङ बजारका व्यवसायी यसरी नै आन्दोलन र नाराबाजीमा उत्रिएको एक महिना भयो ।
उनीहरु नाराबाजी गर्दै कहिले पोखरा महानगरपालिकाको कार्यालयमा धर्ना दिन पुग्छन त कहिले हङकङ बजारसँगै सटिएको कृषि सामग्री केन्द्र कम्पनी लिमिटेडको कार्यालयमा ।

४०० प्रतिशत बढी शुल्क तोकेर कृषि सामाग्रीले टेन्डर आह्वान गरेपछि सटर भाडा तिर्न नसकेर विस्थापति हुनुपर्ने भयले हङकङ बजारका व्यवसायीलाई पिरोलेको छ । ठेकेदारी अन्त्य गरेर कृषिले नै भाडा उठाउनुपर्ने उनीहरुको माग छ । कोरोनाको मार खेपेर भर्खर व्यवसायमा आशाको किरण देखिन थाल्दा आफूहरुलाई हटाउन प्रपञ्च रचिएको आरोप व्यवसायीले लगाएका छन् ।

‘१० वर्ष अगाडि यहाँ केही थिएन । शान्तिवन जस्तै थियो । त्यो ठाउँमा डोजर लगाएर ढुंगामाटादेखि जम्मै सृष्टि हामी आफैंले गरेका हौं । ४÷५ वर्षसम्म व्यापारै भएन नयाँ ठाउँ भयो कोही पनि आएनन् । अलि अलि बजार यसो सुचारु हुँदै थियो केरे त्यसपछि फेरि कोरोनाले ट्याप्पै बनाइदियो । त्यसपछि यता अलि अलि होला कि भनेको मात्रै अहिले फेरि यस्तो भयो’, धर्नामा बसेकी दाहालले देशसञ्चारसँग भनिन् ।

आफैंले सृष्टि गरेको बजारको भाडा ४०० प्रतिशत बढाएर ठेक्का लगाउन खोजेपछि भाडा तिर्न नसकिने उनको ठम्याइ छ । ‘पहिले त भाडामा सहुलियत थियो । यत्रो बढेपछि त कसरी भाडा तिर्ने ? कसरी खाने, बालबच्चा पढाउने ? गाह्रो भाछ नि त ! आन्दोलन त बाध्यताले गर्नुप¥यो, हामिले रहरले गरेको होइन’, उनले सुनाइन् ।

कृषि सामग्री कम्पनीले महंगोमा ठेक्का लगाएपछि ठेकेदारले चर्को भाडा असुल्ने पिरले हङकङ बजारका सबै व्यवसायीलाई तर्साएको छ । स्याल कराउने झाडीमा रगत पसिना बगाएका व्यवसायी विस्थापित हुने चिन्ताले भोक निन्द्रा हराएको बताउँछन् ।

तरकारीको व्यापार गर्ने लक्ष्मी घिमिरे भाडा वृद्धि गरेर ठेक्का लगाइएपछि सडकपेटीमा फर्कन बाध्य हुने बताउँछिन् । ‘एकदम चिन्तित बना’छ बाबु । छोराछोरी यसैले पाल्ने हो’, उनले भनिन्, ‘२० प्रतिशत भाडा बढाएर दिने भनेकौ छौं त । हामीलाई विस्थापित बनाउन खोजे जस्तो छ ।’

सस्तोमा भाडा तिरेर व्यापार गर्दा भएको आम्दानीले छोरीको पढाइ खर्च र घर व्यावहार धानेको उनले बताइन् । अब भाडा तिर्न मुस्किल पर्छ कि भनेर भोक निन्द्र हराएको उनले सुनाइन् । लक्ष्मीले भनिन्, ‘झाडीहरु पन्छाएर व्यापार गरेको ठाउँ हो यो । अब हामी… १ बजेदेखि निन्दै लाग्दैन बाबु रातीको । हिँडेको थाहा पनि छैन, खाको थाहा पनि छैन । टेन्सन छ हामीलाई ।’

अहिलेको भाडामा २० प्रतिशत बढाएर तिर्न तयार रहेको पोखरा हङकङ बजार व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमारी गुरुङले बताइन् । विचौलिया र ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने माग लिएर आन्दोलनमा उत्रिएको उनको भनाइ छ । कृषिले खुलाएको टेन्डर पारेर जर्बजस्त ठेकेदार हङकङ बजारमा पस्न खोजे पत्रिकारमा उत्रने उनको चेतावनी छ ।

‘हामी सिधै कृषिलाई तिर्छम । विचौलियालाई किन पोस्ने ? हाम्रो माग हो । हामीले यो भन्दा भन्दै पनि विचौलियाहरु आयो भनेदेखि भित्र छिर्न दिन्नौं’, गुरुङको चेतावनी छ ।

टेन्डर हालेर पैसा कमाउँछु भन्ने नसोच्न बजार व्यवस्थापन समितिका संरक्षक राजकुमार सुवेदीको चेतावनी छ । ‘तपाईंहरुले के सोच्नुस भने हङकङ बजारमा केही छ त्यहाँभित्र । मन्त्रिदेखि प्रधानमन्त्रीसम्म हाम्रो कुरा पु¥याएका छौं तपाईंहरु होसियार हुनुस्’, उनले आक्रोश पोखे । उनले नजिस्काउन ठेकेदारलाई अनुरोधसँगै खबरदारी गरे ।

७ रोपनी क्षेत्रफलमा बनेका ४०३ सटरमा ३०० साना व्यवसायी फलफूल, तरकारी, खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य वस्तुको व्यापारव्यवसाय गरिरहेका छन् । व्यवसायीले आफैंले बनाएको संरचनामा जग्गाको भाडा २ हजारदेखि ५ हजार रुपैयाँसम्म तिर्छन । जग्गाको भाडा सस्तो भएकै कारण अन्य ठाउँभन्दा सस्तो पाउने भएकाले पछिल्लो समय मध्यम वर्गीय परिवारको किनमेल गन्तव्य हङकङ बजार बनेको छ । तर, एकै पटक ४०० प्रतिशत बढाएर जग्गा भाडामा दिन टेन्डर खुलेपछि चरमा मारमा पर्ने ठम्याउँदै आन्दोलनमा होमिएका हुन् ।

केही व्यवसायी त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समस्या सुुनाउन काठमाडौं पुगेका छन् । कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड, पोखरा महानगरपालिका गुहार माग्दै धाइरहेका उनीहरु प्रधानमन्त्रीले समस्या सुल्झाउने आशावादी छन् । तर, विश्वस्त हुन सेकका छैनन् । किनकी उनीहरुलाई थाहा छ, ‘गरिबको चमेली बोल्दिने कोही छैन ।’

प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार १०:३६

हजुरको प्रतिक्रिया