२०८३ साउन २१ गते बिहीबार

पोखराबाट चीनका सहरमा उडानको तयारी

पोखराबाट चीनका सहरमा उडानको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ५ गते शुक्रबार ०९:०२

जुन २३ तारिख अर्थात असार ८ गतेदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने गरी पर्यटन मन्त्रालयले तयारी गरेको हो ।

उडान अनुमतिमा भारतको आलटाल

पोखरा

उद्घाटन भएको करिब ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको छ । गत पुस १७ गते अंग्रेजी वर्षको दिन उद्घाटन गरिएको विमानस्थलबाट अहिले सम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडानको तयारी गरिएको हो ।

किराँतीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडानको तयारी थालिएको बताए । जुन २३ तारिख अर्थात असार ८ गतेदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने गरी पर्यटन मन्त्रालयले तयारी गरेको हो । विमानस्थल उद्घाटनको दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेपनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन ।

पर्यटनमन्त्री किराँतीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताएपनि कुन–कुन एयरलाइन्सले उडान भर्ने त्यो भने मन्त्री किराँतीले बताएनन् । पोखराबाट अहिले बुद्ध, यति, श्री, सौर्य एयरलाइन्सले काठमाडौंसहित देशका विभिन्न सहरमा उडान भर्दै आएका छन् ।

उडान अनुमतिमा भारतको आलटाल

भारतले पोखरा विमानस्थलबाट आफ्नो सहरहरुमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरले पोखराबाट पहिलो चरणमा बनारसमा उडानको अनुमति मागेपनि अहिलेसम्म दिएको छैन ।

भारतले बुद्धको प्रस्तावलाई ‘निर्णय प्रक्रियामा रहेको’ जवाफ दिएर टारिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । प्रधिकरणका अनुसार नेपाल र भारत सरकारबीच भएको हवाई सेवा सम्झौताअनुसार नेपाल र भारतका सबै सहरहरुमा उडान भर्न बाधा नपर्ने भएपनि अहिलेसम्म भारतले अनुमति नदिँदा उडान हुन सकेको छैन ।

पोखरा विमानस्थल चिनियाँ सहुलियत ऋण लगानीमा निर्माण भएको विमानस्थल हो । चीनको सहयोगमा बनेका कारण विमानस्थल भूराजनीतिक स्वार्थको चपेटामा परेको विश्लेषण गर्न थालिएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारले नै पहल गर्नुपर्ने प्राधिकरणका एक अधिकारीले बताए ।

 

 

प्रकाशित मिति २०८० जेठ ५ गते शुक्रबार ०९:०२
हजुरको प्रतिक्रिया