पोखरा
देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आइसक्दा पनि रहस्यमै रहेको पोखराको रत्नमन्दिर राजदरबार गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते खुल्ने भएको छ । तत्कालीन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनाबमुक्त भएर बास बस्ने ठाउँको परिकल्पना गर्दै पोखरामा रत्नमन्दिर बनाएका थिए ।
२०१५ सालमा कान्छी रानी रत्नको नामबाट महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको त्यो बंगलाको नाम रत्नमन्दिर राखेका थिए । कास्कीबाट तत्कालीन पर्यटनमन्त्री भएका स्वर्गीय रवीन्द्र अधिकारी यताका हरेक मन्त्री र पोखरा आउने प्रधानमन्त्रीलेसमेत रत्नमन्दिर खोल्ने बताउँदै आएका थिए ।
अब भने त्यही रत्नमन्दिर सधैंका लागि जनताले हेर्न र घुम्न पाउने भएका छन् । अहिलेसम्म रहस्यमै रहेको रत्नमन्दिर गणतन्त्र दिवसका दिन पारेर जेठ १५ गते जनताका लागि खुला गर्ने तयारी भइरहेको छ । गणतन्त्र दिवसका अवसरमा रत्नमन्दिरमात्र खुला गर्ने निर्णय भएर तयारी भइरहेको सदस्य योङजोमले जानकारी दिइन् । रत्नमन्दिर पुरानै स्वरुपमा खोल्ने तयारी भएको उनको भनाइ छ ।
रत्नमन्दिर जनताका लागि खुला गर्न पर्यटनमन्त्री किराँती आफैं पोखरा आउँदै छन् । हिमा गृह अहिल्यै खुल्ने छैन भने मर्मत गर्नुपर्ने काम बाँकी नै रहेकाले रत्नमन्दिर ‘दरबार’भित्र तत्कालीन राजपरिवारले प्रयोग गर्ने कोठादेखि सरसामान भने अझै नागरिकले हेर्न नपाउने भएका छन् । तर, त्यसको जानकारी दिने भिडियो सामाग्री भने बाहिरै राखिने र अन्य सबै ठाउँ खुला गर्ने तयारी भइरहेको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।
१ सय रुपैयाँसम्म टिकट काटेर रत्नमन्दिर खुलाउने तयारी भएको हो । रत्नमन्दिर खुल्ने भएपछि पोखराका पर्यटन व्यवसायी पनि उत्साही छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले रत्नमन्दिर खुलिसकेपछि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने र कम्तिमा पनि १ दिन बसाईं लम्बिने विश्वास व्यक्त गर्छन् ।
अर्का पर्यटन व्यवसायी सञ्जयकान्त सिग्देलले ‘रिलाक्स’ गर्नमात्रै नभएर तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका नागरिकसँग नजिक हुन पनि रत्नमन्दिर राजाहरुले प्रयोग गरेको बताए । १ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालीन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् ।
प्रकाशित मिति २०८० जेठ ६ गते शनिबार ०६:२८



