२०८३ साउन २१ गते बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ बढीलाई मुद्दा

नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ बढीलाई मुद्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ७ गते आइतबार ०६:५९

१०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने सुझाव प्रहरीको छ ।

अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

पोखरा

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान प्रतिवेदन तयार भएको छ । अनुसन्धान प्रतिवेदन आज प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ । पक्राउ परेका १६ सहित २४ जना भन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ । १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने सुझाव प्रहरीको छ । हाइ प्रोफाइल व्यक्ति पक्राउ परेको यो प्रकरणको अनुसन्धानमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवदेन किर्ते, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेश गर्दै अनुसन्धान प्रतिवदेन तयार पारेको हो । प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेको एमएमएसको मात्रै ४० देखि ४५ वटा स्क्रिन सर्ट राखिएको स्रोतको भनाइ छ ।

पूर्व मन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, गिरोहका नाइके सानु भण्डारी र केशव दुलालको विषयमा प्रहरीले पर्याप्त प्रमाण संकलन गरेको जनाएको छ ।

भुटानी शरणर्थी नेता टेकनाथ रिजालले कार्यदल बनाउने र सो कार्यदलको कार्यान्वयन तहसम्म पुरयाउने काममा सहयोगी बनेको देखिएपनि नियतवश हो कि भवितव्य हो भन्ने बारे केही खुलाइएको छैन । पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा झापा जिल्लालाई पत्रचार गरेको र २०७८ पुस ३० गते बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलको प्रतिवदेन कार्यान्वयन गर्ने निर्णय भएको बाहेक ठगीका अन्य प्रमाण अपर्याप्त रहेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

संगठित अपराधमा ६० दिन भित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हदम्यादका कारण प्रतिवदेन सरकारी वकिलको कार्यालयमा बुझाएपनि हाइ प्रोफाइल नेताहरुका मुद्दामा पुनः अनुसन्धान गर्ने बाटो रहिरहने प्रहरीको भनाइ छ । यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने केही व्यक्ति अझै फरार रहेका छन् ।

प्रकाशित मिति २०८० जेठ ७ गते आइतबार ०६:५९
हजुरको प्रतिक्रिया