पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाज छाडातन्त्रमा गएको टिप्पणी गरेका छन् । छाडातन्त्रमा गएको समाजमा हुने अराजकताबाट फाइदा लिन खोज्दा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ ।
नेपाल प्रेस युनियन कास्कीको १० औं आधिवेशनमा मुख्यमन्त्री पाण्डे भने, ‘जानेर नजानेर बुझेर नबुझेर त्यसमा हाम्रो पनि योगदान भइरहेको छ कि ।’ मिडियाकर्मीले उपलब्धि जोगाउन गम्भिर भएको कलम चलाउनुपर्ने उनको भनाइ छ ।
एउटै सन्दर्भका समाचार पनि मिडियापिच्छे फरक फरक सम्प्रेषण हुने गरेकोमा चिन्ता व्यक्त गरे । पत्रकारिता सत्य तथ्यमा आधारित हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड छ । सामाजिक सञ्जालले अफवाह बढी फैलाएको उनको आरोप छ ।
प्रेस युनियन कास्कीले ४ पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत भए ।
वर्ष २०७७ बाट पौडेल र वर्ष २०७९ बाट बास्तोला पुरस्कृत भएका हुन् । उनीहरुले जनही ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरे ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलाई ५१ हजार राशिको सुप्रेम शारदा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार नवीन सिग्देल पुरस्कृत भए । पुरस्कारको राशि २५ हजार ५२५ रुपैयाँ र सम्मानपत्र छ ।
प्रकाशित मिति २०८० जेठ ७ गते आइतबार ०२:२५




