पोखरा
योजनासहितको कागज बोकेर नवजागरण बुहमुखी क्याम्पस नवलपुरका क्याम्पस प्रमुख देवीप्रसाद सुवेदी गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आए । उनले बोकेको फाइल क्याम्पसको क्यान्टिन निर्माण गर्न १९ लाख ८३ हजार ८०९ रुपैयाँ बजेट माग्ने थियो ।
क्युएए मान्यता प्राप्त गर्ने प्रकृयामा रहेको क्याम्पसलाई क्यान्टिनको पूर्वाधार बनाउनैपर्ने बाध्यता छ । क्याम्पसको आन्तरिक स्रोतले सम्भव छैन । स्थानीय तहले बजेट उपलब्ध गराउन नसक्ने भएपछि प्रदेश मन्त्रालय धाउनु परेको सुवेदीले बताए । ‘स्थानीय तहबाट नभएर । यो अहिले सम्भव छैन, जताततै संकट लागेको छ । हामीले अहिले गर्न सक्दैनौं भन्ने कुरा आयो । त्यसले गर्दा हामी प्रदेश सरकारमा आको’, उनले भने, ‘के छ भने सामुदायिक क्याम्पसलाई केन्द्र सरकारले पनि त्यति ध्यान नदिने पालिकाले पनि हामी भन्दा माथि हो । यो त प्रदेशले नै हेर्नुपर्छ भन्छ ।’
तनहुँको भीमाद नगरपालिका–४ का वडाध्यक्ष रामकृष्ण राना दिनभर प्रदेशका विकासे मन्त्रालय चाहारे । उनले वडाका १२ योजनालाई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म बजेट माग्दै मन्त्रीलाई भेटे । सामुदायिक भवन, सडक उनले ल्याएका योजनाको सूचिमा थिए ।
नगरपालिकाको बजेटले सम्बोधन नगरेको भन्दै जनताको माग लिएर प्रदेशमा धाएको उनको भनाइ छ । ‘नगरमा बजेट मनग्य भएको भए यसरी प्रदेशमा धाउनै पर्थेन’, उनले भने । नगरपालिकाको बजेट कम हुने र जनताको माग बढी भएको उनले सुनाए । उनले भने, ‘नगरपालिकाको खुबी भएन । सीमित बजेट हुन्छ । नगरपालिकाकै आर्थिक संकटले यसरी आउन बाध्य भए ।’
असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार गण्डकी प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ । विषयगत विज्ञसँगको छलफलसँगै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारणमा प्रदेश सरकार जुटेको छ । यही बेला बजेट पार्न योजनाको सूचिसहित माला र खादा बोकेर मन्त्रीको दैलो चाहार्नेको भिड छ ।
आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्नलाई गण्डकी प्रदेशका मन्त्रालयमा दलबलसहित लर्को लागिरहेको छ । वडा सदस्यदेखि स्थानीय तहका प्रमुख, प्रदेश सभा सदस्य, पूर्वमन्त्री र पार्टीका नेता कार्यकर्तादेखि चिनेजानेका व्यक्ति दिनहुँ मन्त्रालय धाइरहेका छन् ।
प्रदेशको आर्थिक मामिला, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, उर्जा, जलस्रोत तथा खानेपानी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा बजेट माग्नेको बढी भिड छ । यि मन्त्रालयमा बढी भिड हुँदा योजना माग्न जानेहरु घण्टौं पर्खनपर्ने अवस्था सिर्जना भएको छ । भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयमा दैनिक ३ सय बढी योजना माग्ने आइरहेका छन् ।
स्थानीय तहले दिन सक्ने १५ थान तारजालीसमेत माग्दै पहुँचवाला प्रदेशका मन्त्रालय धाइरहेका छन् । नियमित हुने विकास निर्माण र अनुत्पादक क्षेत्रका लागि बढी बजेट माग भइरहेका छन् । संघ र स्थानीय सरकार पनि बजेट बनाउने तयारीमा छन् । त्यहाँ पनि प्रदेशमा झैं बजेट माग्नेको कमी छैन । संघ र स्थानीय तहसँग नदोहोरिने गरेर योजना छान्ने गण्डकी प्रदेशको तयारी छ । ‘स्थानीयमा पनि योजना माग्नुभाछ । यहाँ पनि योजना ल्याउनुभाछ, केन्द्रमा पनि योजना हाल्नुभाछ । किनभने जहाँबाट भएपनि योजना परोस् भन्ने उहाँहरुको हुन्छ’, गण्डकीको प्रवक्तासमेत रहेकी उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले भनिन् ।
योजना दोहोरिन नदिने मन्त्री अर्यालको दाबी छ । ‘केन्द्रले गरेको बजेट भाषणमा कुन कुन योजनाहरु प¥यो । डबल नहुने गरी केन्द्रले सम्बोधन नगरेको हामी सम्बोधन गर्छौं’, उनको भनाइ छ । यसपालि योजना जुधाएर हाल्ने पक्षमा संघ, प्रदेश र स्थानीय सरकार नभएको उनले बताइन् ।
खुद्रे र पहुँचवालाका खल्तीका योजनामा बजेट विनियोजन भएको भन्दै अघिल्लो सरकारले आलोचना खेपेको थियो । बजेट माग्नेको लर्कोले आउँदो बजेट पनि यसबाट अछुतो हुने संकेत देखिँदैन । तर, अर्थमन्त्री जीतप्रकाश आले भने प्राथमिकताको आधारमा बजेट ल्याउने दाबी गर्छन् । पहिलेको जस्तो जथाभावी बजेट नआउने मन्त्री आलेको भनाइ छ । ‘सिस्टममा ढाल्ने प्रयास गर्छौं । हाम्रो प्राथमिकताक्रममा परेका विषयहरुलाई छुने गरेर जनताले अनुभूति गर्ने गरेर बजेट ल्याउँछौं’, उनले भने ।
पुँजीगत खर्चलाई बढाएर बजेट ल्याउने उनले जानकारी दिए । जनताले आशा र भरोसा गर्ने बजेट बन्ने अर्थमन्त्री आलेको दाबी छ । टुक्रे योजनालाई सकभर नसमेट्ने उनले बताए ।
गण्डकी प्रदेशले चालू आर्थिक वर्षमा ३० अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । यसपालि बजेटको आकार घट्ने अनुमान छ । यो वर्ष ३२ अर्बको हाराहारीमा बजेट ल्याउने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेको बेला बजेट माग्दै आउनेको लर्कोलाई एक अर्थमा सकरात्मक मान्न सकिन्छ । तर, पहुँचवालाले मात्रै योजना पाउँछन् कि समानुपातिक विकासको अभ्यास हुन्छ, त्यो भने आउँदो बजेटले नै देखाउनेछ ।
विनोद ढुंगानाको एक रिपोर्ट
प्रकाशित मिति २०८० जेठ ९ गते मंगलबार ११:४५



