जब फेवाताल सिमसार पुर्ने माफियाले महानगरकै गाडी घेराउ गरे....
पोखरा
फेवातालको पामे क्षेत्रमा व्यक्तिले आवासीय निर्माणका लागि सीमसार क्षेत्र पुरिरहेको भन्ने व्यापक जनगुनासो आएपछि महानगरको केही टोली शनिबार त्यतातर्फ लागेको थियो ।
पोखरा महानगरको ग १ झ ३२० नम्बरको पिकअप गाडीमा नगर प्रहरीसहितको टोली फेवा सीमसार क्षेत्रमा जाँदै थियो ।
महानगरको टोली जाँदै गर्ने क्रममा ग १ ख ८६८७ नम्बरको टिप्परसँग आमनेसामने भए ।
फेवाताल पुर्न माटो ओसारिरहेको अवस्थामा रंगेहात जम्काभेट भएपछि नगर प्रहरीले केरकार गर्न थाले । केरकारका क्रममा खुल्यो, सीमसार क्षेत्र व्यवसायी युवराज खतिवडाले पुर्न लागिरहेका रहेछन् ।
‘माथि घाँटीछिना (फेवाताल मुहान)छेउको नाला खन्दा निकालिएको माटो बोकेर सीमसार क्षेत्रमा ल्याउने क्रममा थियो, त्यही क्रममा हामीले मालसहितको गाडी रोकेको हो,’ पोखरा महानगरका नगर प्रहरी सई पुरुषोत्तम थापाले भने, ‘अनुमति छ भने देखाउनुस्, हैन भने जाम नगरपालिका त्यसपछि प्रक्रियाअनुसार जाऔंला भनेको हो । मान्नुभएन ।’
त्यही क्रममा त्यहाँ सामान्य विवाद पनि भएको थियो । फेवाताल पुर्न माटो ओसारिरहेको अवस्थामा रंगेहात पक्राउ परेको गाडी नियन्त्रण गर्न सक्ने स्थिति नरहेपछि सई थापाले बैदाम प्रहरी कार्यालयको सहयोग मागेको सुनाए ।
संयोगवश बैदामका डिएसपी त्यही बाटो हुँदै कतै जाँदै रहेछन् ।
डिएसपीको आदेशपछि टिपरसहित महानगरपालिकाको टोली फर्किंदै थियो । तर, पामे आइपुग्दा एकाएक एक हुल युवा भेला भए र टिपरको माटो त्यही झारेर महानगरकै गाडी रोकियो ।
‘डिएसपी साबले माटो बोकेको गाडीलाई हामीसँगै पठाइदिनुभो । पामे बजारभन्दा अलिकति अगाडि आइसकेपछि १५, २० जना केटाहरु ह्वार्ररै आए, टिपरलाई रोकेर बाटोमै माल झारिदिए, त्यसले गर्दा हाम्रो गाडी पनि ब्लक भयो,’ थापाले भने, ‘उनीहरुले हामीलाई कुट्नै खोजे । झगडा नै हुन थाल्यो ।’
व्यवसायी युवराज खतिवडा समर्थक युवाहरुले आफूहरुको गाडी रोकेर हातपात नै गर्न थालेपछि फेरि प्रहरीलाई खबर गर्नुपरेको थापाले सुनाए । उनले आफूहरु चढेको महानगरको गाडी छोडेर बैदाम प्रहरी कार्यालयको गाडीमा आउनुपरेको जानकारी दिए ।
धाडिङका युवराज खतिवडा पोखराका विभिन्न ठाउँमा मापदण्ड मिचेर सटर व्यवसाय गर्दै आएका व्यापारी हुन् ।
यसअघि पनि उनी पटकपटक फेवाताल पुर्दै आएको आरोपमा पक्राउ पर्दै छुट्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले महानगरको गाडी रोक्न संलग्न ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
फेवाताल पुर्न प्रयोग भएको टिप्परसहित पक्राउ परेका ७ जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको र थप अनुसन्धा प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पछिल्लो समय फेवातालको सीमसार क्षेत्र पुर्ने काम तीव्र रुपमा बढेर गएको छ ।
कृषि प्रयोजनका लागि भन्दै महानगरदेखि अनुमति लिने र मापदण्डविपरीत आवास प्रयोजनका लागि सीमसार पुर्ने काम बढेर गएको हो ।
व्यवसायी देवेन्द्र केसीले पनि महानगरबाट कृषि प्रयोजनका लागि सहमति लिएर मापदण्डविपरीत फेवाताल पुरिरहेका छन् । तर, त्यसलाई रोक्न महानगर मौन छ ।
निरिह छन्, सरोकारवाला निकाय
मापदण्डविपरीत फेवतालको सीमसार पुरिरहेको खबर वडा, महानगर, जिल्ला समन्वय समिति, ताल प्राधिकरण, प्रदेश सरकार बेखबर भने होइनन् ।
नागरिक समाजले केही दिनअघिमात्रै मुख्यमन्त्रीलाई भेटेरै ताल पुर्ने गतिविधि रोक्न ज्ञापनपत्र नै बुझाएको थियो ।
तर, सीमसार मास्ने काम भने रोकिएको छैन । नागरिक अगुवा रामबहादुर पौडेल सरोकारवाला निकाय निरिह बन्दा माफियाको रजाइँ बढेको आरोप लगाउँछन् ।
आफूहरुले ताल बचाउन पटकपटक आग्रह, ज्ञापनपत्र बुझाउँदा पनि कुनै प्रगति नभएको उनको भनाइ छ ।
त्यसका लागि मुख्य त स्थानीय सरकार नै लागिपर्नुपर्ने उनको सुझाव छ ।
‘सम्बन्धित क्षेत्रका वडा, स्थानीय जनता, जग्गा धनी, महानगर, डिभिजन वन कार्यालय, सिंचाइ कार्यालय, ताल प्राधिकरण सबैलाई यो विषय जानकारी छ । तर, उनीहरु बोल्दैनन्,’ पौडेलले भने, ‘संरक्षित सम्पदा गैरकानुनी रुपमा मास्ने काम भइरहँदा यिनीहरु सबै जवाफदेही हुनुपर्छ ।’
तस्वीर साैजन्यः श्याम रानामगर
प्रकाशित मिति २०८० जेठ १४ गते आइतबार ०९:०२




