पोखरा । दुई अर्ब रूपैयाँभन्दा बढी अपचलन गरेर बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन छन् । इमेज सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली उपप्रमुखलाई कार्यबहाकको जिम्मा दिएर १० दिनदेखि बेपत्ता छन् ।
गण्डकीका सांसदहरुले मेयर नेपालीसहित सहकारी सञ्चालकलाई छिटोभन्दा छिटो खोजेर निक्षेपकर्ताको समस्या समाधान गरिदिन सरकार गुहारेका छन् । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै बागलुङका तीन जना सांसद नेकपा एमालेका कृष्णप्रसाद पाठक, नेपाली कांग्रेसका जित शेरचन र डिल्लीराम सुवेदीले निक्षेपकर्ताको पैसा फिर्ता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।
सांसद पाठकले सञ्चालक र तिनका परिवारको नाममा रहेको सम्पत्ति बेचेरै निक्षेपकर्ताको पैसा फिर्ता गर्न माग गरे । ‘निक्षेपकर्ता आन्दोलनमा होमिएका छन् । यसरी ठूलो संख्यामा रकम हिनामिना गर्ने यी सञ्चालकलाई तत्कालै कानुनको दायरमा ल्याउन र यी सञ्चालक, परिवारको नाममा रहेका चल–अचल सम्पत्ति रोक्का गरेर त्यो कानुनबमोजिम बेचेर निक्षेपकर्ताको बचत फिर्ता गर्न प्रदेश सरकार र सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।
सांसद शेरचनले जनता पीडित भइरहेको गम्भीर विषयमा पनि सरकारले आफ्नो ध्यान नदिएको भन्दै गुनासो पोखे । उनले जनताको पैसा ठग्नेलाई कठ्घरामा उभ्याइनुपर्ने बताए । ‘आज जनताको पैसा लिएर जुन ढंगले भाग्ने अवस्था बढेको छ यसले पीडित पीडामा छन्,’ उनले भने, ‘सरकारले किन गम्भीर रूपमा ध्यानाकर्षण गर्न सकिरहेको छैन ? कसरी कारबाही गर्ने ? जनताको पैसा ठग्नेलाई कठघरामा ल्याउनुपर्छ ।’
सांसद सुवेदीले प्रदेशभरका सहकारीको आर्थिक अवस्था कस्तो छ भन्ने जानकारी गराउन माग गरे । ‘खाडीमा जम्मा गरेर, देशमै चिया बेचेर जम्मा गरेको रकम करिब साढे दुई अर्ब रूपैयाँभन्दा बढी अपचलन भएको कुरा आएको छ । पीडितले फोन गरेर सम्बन्धित व्यक्तिलाई कारबाही गर्न भनेर जाँदा उजुरी लिइएको छैन भन्नुभएको छ,’ उनले थपे, ‘प्रदेश रजिष्ट्रारको कार्यालयले नियमन गर्न पाउने ९ सय ४० वटा सहकारीको आर्थिक अवस्था कस्तो छ ? त्यो सार्वजनिक गर्न माग गर्दछु ।’
बागलुङ र कास्कीमा शाखा रहेका यी सहकारीका निक्षेपकर्ता आफ्नो बचत फिर्ता लिन दैनिक धाइरहेका छन् । निक्षेपकर्ताको पैसा लिएर घरजग्गामा लगानी गर्ने र तरलता अभाव भएपछि सहकारीले बचतकर्तालाई पैसा दिन सकेका छैनन् ।
प्रकाशित मिति २०८० जेठ १४ गते आइतबार ०८:४९




