२०८३ साउन २१ गते बिहीबार

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज आउने

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज आउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २१ गते आइतबार ०६:५९

प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औं पञ्चवर्षीय योजना, दीगो विकासका लक्ष्य, राजनीतिक दलहरुले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको गण्डकी प्रदेशको नीति तथा योजना आयोगको भनाइ छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमले निरन्तरता पाउने संकेत

पोखरा

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । गण्डकी प्रदेश सभाको आज दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै बजेट ल्याउने गरिन्छ ।

प्रदेशले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । यसअघि आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेका थिए भने बजेटको सिद्धान्त र प्राथमिकतामाथि जेठ १४ र १६ गते छलफलपछि पास भएको थियो ।

मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि प्रदेश सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरी छैटौं वर्षमा ल्याउन लागेको नीति तथा कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । भवन निर्माण, गाडी खरिदलाई सरकारले आगामी आर्थिक वर्ष निरुत्साहित गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउँदै आएका छन् । स्वास्थ्य कृषिलाई प्राथमिकतामा राखेर प्रदेशवासीले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको उनले जनाए ।

प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औं पञ्चवर्षीय योजना, दीगो विकासका लक्ष्य, राजनीतिक दलहरुले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको गण्डकी प्रदेशको नीति तथा योजना आयोगको भनाइ छ ।

आगामी वर्ष निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमले निरन्तरता पाउने संकेत देखिएको छ । सांसद विकास कोषका नामले चिनिएको यो कार्यक्रम संघ सरकारको बजेटमा पनि परेको भएकाले प्रदेशमा पनि राखिने संकेत मुख्यमन्त्री पाण्डेले गरेका छन् ।

यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारी र सांसदहरुको समेत दबाब छ ।सांसदले छानेका योजनामा बजेट खर्च हुने गरी कार्यविधि बनाएर सम्बन्धित कार्यालयहरुबाटै कार्यान्वयन हुने कार्यक्रममा अनियमितताको गुन्जायस नहुने मुख्यमन्त्री पाण्डे दाबी छ । सरकारले करिब ३२ अर्बको बजेट ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको छ ।

 

प्रकाशित मिति २०८० जेठ २१ गते आइतबार ०६:५९
हजुरको प्रतिक्रिया