पोखरा
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरण सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा छुनछेक बहस चलिरहेको छ । सरकारी वकिलले बहस मंगलबार सकिएको छ । बहसमा सरकारी वकिलहरुले प्रतिवादीहरूलाई थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने तर्क गरेका छन् ।
प्रकरणमा पूर्वमन्त्रीदेखि सरकारी उच्च पदस्थ कर्मचारी नै मुछिएकाले उनीहरु थुनामुक्त भए मुद्दा प्रभावित हुन सक्ने भन्दै सरकारी वकिलले थुनामै राख्नु पर्ने तर्क गरेका हुन् । सरकारी वकिलहरुको बहस सकिएकाले आजदेखि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । अभियुक्त पक्षका वकिलले बहसका लागि ६ दिनको समय पाउनेछन् ।
थुनछेक बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।
प्रकरणमा पक्राउ परेका १८ र फरार १४ गरी ३२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, कीर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० गते मुद्दा दायर भएको छ । प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिहरु पक्राउ परेका छन् ।
प्रकाशित मिति २०८० जेठ २४ गते बुधबार ०८:१५




