२०८३ साउन २१ गते बिहीबार

दीर्घकालीन महत्व राख्ने कार्यक्रम ल्याउन नसकेको एमालेको आरोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २४ गते बुधबार ११:०७

गोेलमोटल कार्यक्रम ल्याइएको भन्दै मुख्यमन्त्री अधिकारीले विनय–त्रिवेणी र कोरोला नाकामा भन्सार खोल्छौं भनेरै उल्लेख हुनुपर्ने बताए ।

सबै क्षेत्रलाई समेटेको भन्दै कांग्रेसले गर्‍यो बचाऊ

पोखरा

गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिपक्षी दल एमालेले आलोचना गरेका छ भने सत्ता पक्षका सांसदले रुपान्तरणकारी कार्यक्रम भन्दै बचाउ गरेका छन् । सरकारका तर्फबाट आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।

विपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रदेशको औचित्य पुष्टि गर्न सक्ने गरी आशावादी नीति तथा कार्यक्रम नआएकोे जिकीर गरेका छन् । पुरातनवादी चिन्तनबाटै कार्यक्रम आएको भन्दै यसले प्रदेशको ढुकुटी र राजस्वको दायरासमेत बढाउन नसक्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए ।
पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले राज्यको ढुकुटी बढाउन यो–यो काम गर्छौं भनेर नीति तथा कार्यक्रममै उल्लेख हुनुपर्ने जिकीर गरे । प्रदेशको आफ्नै पुँजी निर्माणका लागि नीति तथा कार्यक्रमले बोल्न नसकेको उनको भनाइ थियो ।

गोेलमोटल कार्यक्रम ल्याइएको भन्दै मुख्यमन्त्री अधिकारीले विनय–त्रिवेणी र कोरोला नाकामा भन्सार खोल्छौं भनेरै उल्लेख हुनुपर्ने बताए ।

वर्तमान अवस्थालाई सम्वोधन गर्न र भोलिको भविष्यको चित्र कोर्न नसकेको भन्दै विपक्षीले आलोेचना गरेका थिए । तर, सत्तापक्षका सांसदले कार्यक्रमले सुधारको संकेत गरेको भन्दै बचाऊ गरेका थिए । समग्र सबै क्षेत्रलाई समेटेर नवीनतम र ऊर्जाशील कार्यक्रम आएको कांग्रेस सांसद डा. टकराज गुरुङको भनाइ छ ।

एमालेका सांसद गणेशमान गुरुङले युवाहरुलाई रोजगार कसरी दिने, विदेश पलायनबाट कसरी रोक्ने, उद्यमसँग कसरी जोड्ने भन्ने कुरामा नीति कार्यक्रम मौन रहेको बताए । उत्पादनमा आधारित कार्यक्रम आएको र यसपटक पनि कोरोला नाकाबारे सम्वोधन भएको मुस्ताङका कांग्रेस सांसद नन्दु गुरुङको भनाइ छ । तर, कोरोला नाका खोल्ने प्रत्येक कार्यक्रम र भाषणले सम्वोधन गरे पनि खुल्न नसकेकोमा गुरुङले दुखेसो पोखे ।

एमाले सांसद वेदबहादुर गुरुङले पछि के हो, के हो, अहिले नै लोकप्रिय कार्यक्रम पस्किहालौं भनेर ल्याएजस्तो देखिएको बताए । चुनावी सरकारको नीति तथा कार्यक्रमजस्तो सबै क्षेत्रलाई छोएको तर केही नभएको खोक्रो रहेको गुरुङको आरोप छ । वितरणमुखी टुक्रे योजनाहरुलाई निरुत्साहित गर्ने र दीगो योजनालाई प्राथमिकता दिन नीति तथा कार्यक्रमले नसकेको गुरुङले बताए । स्रोत सुनिश्चित नै नहुने क्षेत्र कार्यक्रममा समावेस भएको गुरुङको भनाइ थियो ।
राप्रपा सांसद विन्दु पहाडीले नीति तथा कार्यक्रम गाजरको बाँसुरी नभएको बताइन् । कार्यक्रम निकै सकारात्मक रहेको उनको भनाइ थियो ।

सरकार निरन्तरको उत्तराधिकारी भए पनि अघिल्ला नीति तथा कार्यक्रमको समीक्षा गर्न चुकेको सांसद राजकुमारी भुजेलले बताइन् । यो नीति तथा कार्यक्रमले राजश्व पनि नबढाउने र रोजगार सिर्जना पनि नगर्ने उनको भनाइ थियो ।

माओवादी सांसद कुशुम बुढामगरले समाजमा अझै पनि हुँदा खाने र हुने खानेबीच असमानता रहेको भन्दै ती समुदायलाई एउटा मालामा ल्याउन प्रदेश सरकारले रेखा कोरिरहेको बताइन् ।

नेपाली कांग्रेस सांसद विमला गौचनले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत हरेक क्षेत्रमा नीति तथा कार्यक्रमले समेटेकोे बताइन् । उनले गण्डकी प्रदेशको इतिहासमैे यतिको कार्यक्रम नआएको दाबी गरिन् ।

प्रकाशित मिति २०८० जेठ २४ गते बुधबार ११:०७
हजुरको प्रतिक्रिया