पोखरा
शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षा तथा मानव विकास केन्द्रले सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना रियल प्लान कार्यान्वयनमा ल्याएको छ ।
कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द भएर शिक्षण सिकाइमा असर परेपछि सिकाइको क्षतिको आपूरण नगरेसम्म प्राज्ञिक कार्य सम्पादन मजबुद नहुने निष्कर्षमा पुगेर शिक्षा मन्त्रालयले रियल प्यान ल्याएको हो । मन्त्रालयल अन्तर्गतको शिक्षा तथा मानव विकास केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रका महानिर्देशक चूणामणी पौडेलले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन रियल प्लान, पढ्दै कमाउँदै जस्ता कार्यक्रमको ल्याइएको जानकारी दिए ।

बालबालिकाको सिकाइ क्षतिको पहिचान गरी उनीहरूलाई सिकाइ सहायता उपलब्ध गराउन सिकाइ आपूरण र द्रुत सिकाइ योजना निर्माण गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक अर्जुन ढकालले जानकारी दिए । यो कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिने उनले बताए । केही विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए । विद्यार्थीहरुले अब व्यावहारिक शिक्षामा पनि ध्यान दिनुपर्छ भनेर पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको उनले बताए । उनका अनुसार कास्कीका २ विद्यालयसहित देशका १ सय ४० विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको छ ।
उनका अनुसार यो कार्यक्रम १ सय विद्यालयमा थप गर्ने योजना केन्द्रले बनाएको छ । कास्कीको माछापुच्छे« गाविसमा रहेको बराहा मावि र पोखराको जनप्रिय माविमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको हो । देशभरको शिक्षाको स्तरवृद्धिका लागि नेपाल सरकारले यो वर्ष १ खर्ब ९७ अर्ब विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा महाशाखाका उपसचिव घनश्याम अर्यालले जानकारी दिए ।
शिक्षाका लागि छुट्टिएको बजेटको धेरै रकम वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई जाने उनले सुनाए । १ खर्ब ३५ अर्ब बजेट स्थानीय तहमा पुग्ने उनको भनाइ छ । केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता वसन्तप्रसाद कोइरालाले तीन तहको सरकारको जिम्मामा शिक्षा पुगेपछि अन्यौलको अवस्था सिर्जना भएको बताए । उनले यो वर्ष संघीय शिक्षा ऐन आउने विश्वास व्यक्त गर्दै देशभरी ६० हजार शिक्षकको दरबन्दी अभाव रहेको जानकारी दिए ।
प्रकाशित मिति २०८० जेठ २७ गते शनिबार १०:३९




