पोखरा । स्वास्थ्यकर्मीहरुको पेशागत संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको १८ औं स्थापना दिवस जिल्ला कार्यसमिति कास्कीले स्वास्थ्य परीक्षण र खाद्यान्न वितरण गरेर मनाएको छ ।
मानव सेवा आश्रम हेमजामा रहेका १०३ जनाको प्रेसरसहित सामान्य स्वास्थ्य परिक्षण र ७० जनाको रगतमा सुगरको परीक्षण गरेर शनिबार स्थापना दिवस मनाइएको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको तर्फबाट ५/५ हजार रुपैयाँ, खाद्य सामग्री, औषधिलगायत सामग्री मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले नेता, पूर्व स्वास्थ्यमन्त्री एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मानव सेवा आश्रम गण्डकी प्रमुख होमनाथ तिमिल्सिनालाई नगद, खाद्यान्न र औषधी हस्तान्तरण गरेका हुन् । अधिकारीले नेकपा एमाले सरकारमा रहेकै समयमा सडक मानवरहित समाजको परिकल्पनालाई साकार रुप दिन मानव सेवा आश्रमलाई व्यवस्थित गर्ने नीति लिइएको बताए । स्वास्थ्यजस्तो संवेदनशील र मानव सेवामा समर्पित पेशाकर्मीले आफ्नो स्थापना दिवस मनाउन मानव सेवा आश्रम रोजेकोमा उनले खुसी व्यक्त गरे । स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन र पेशागत हकहितका लागि थप संगठित भएर अगाडी बढ्न अधिकारीले स्वास्थ्यकर्मीलाई सुझाव दिए ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय सदस्य, गण्डकी प्रदेश सह–इन्चार्ज एवं कास्की जिल्ला इन्चार्ज हरिलाल आचार्यले स्वागत र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष भिमराज सिंह, केन्द्रीय सदस्य लोकेन्द्र खत्री, महासंघको घटक संघ राष्ट्रिय जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष डा. कपील ज्ञवाली, उपाध्यक्ष डा. डम्मरु पनेरु, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गण्डकी प्रदेश उपाध्यक्ष बिनिता दाहाल र सचिव फुलदेव तिम्सिना, नेपाल स्वास्थ्य प्राविधिक संघ कास्की सचिव अर्जुनबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता महासंघका कास्की जिल्ला अध्यक्ष चिरञजीवी तिमिल्सिनाले र सञचालन सचिव लोकराज आचार्यले गरेका थिए ।
प्रकाशित मिति २०८० जेठ २७ गते शनिबार ०८:४३




