२०८३ कात्तिक १० गते सोमबार

गर्मी छल्न भारतीय पर्यटकको लर्को

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २९ गते सोमबार ०१:४४

४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो । तर, पनि यतिबेला पोखरा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ ।

पोखरा
जोकोही पोखरेलीले यतिबेला भेटमा होस् वा सामाजिक सञ्जालमा भनिरहेका छन्, ‘ऊफ् कति गर्मी ।’ हुन पनि पोखरामा यतिबेला अत्याधिक गर्मी छ ।

मनसुन सुरु भइसक्नु पर्ने यो महिनामा अहिलेसम्मकै उच्च तापक्रम ३६ डिग्री सेल्सियस पोखराले रेकर्ड बनाएको छ । तापक्रमले जुन महिनाको अहिलेसम्मको रेकर्ड नै तोडेको हो । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो । तर, पनि यतिबेला पोखरा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ ।

पोखरेलीका निम्ति उखरमउलो लागेको गर्मी भारतीय पर्यटकका निम्ति भने उतिसाह्रो होइन । योभन्दा धेरै चर्को गर्मीलाई छल्दै भारतीय पर्यटकहरु यतिबेला पोखरा आउने क्रम बढ्दो छ । गर्मी विदाको सदुपयोग गर्दै भारतीय पर्यटकका निम्ति पोखरा धुमधाम रोमाञ्चक गन्तव्य बनिरहेको छ ।

विहारबाट परिवारसहित आएका चन्द्रदेव प्रसादले पोखरालाई शीतल महसुस गर्दै घुमिरहेका छन् । ‘पोखरा बहुत सुन्दर छ । घुम्नलायाक ठाउँ रहेछ’, उनले भने, ‘उहाँ बहुत गर्मी छ । यहाँ त ठिकै हो’ गलाको मख्लरले पसिना पुच्छदै भने ।

हैदरावादका कमल पारिक परिवारका २० सदस्य लिएर पोखरा घुमिरहेका छन् । ४ दिन अगाडि नेपाल आएको उनको परिवारका सदस्य मुक्तिनाथबाट फर्किएर पोखरा आसपास दिन बिताउँदैछन् । पोखराको सुन्दरताले लोभ्याएको उनले बताए । सडकले भने उनलाई गिज्याएछ । ‘यहाँको सरकारलाई छिटोभन्दा छिटो सडक बनाउन भन्दिनु’, उनले सुनाए ।

भारतको विहारबाट आएका धेरै पर्यटक पोखरामा भेटिन्छन् । सडकमा छ्यापछ्याप्ती भारतीय सवारीसाधन गुडिरहेको छ । पोखराको लेकसाइड, तालबाराही मन्दिर, पामे, पाताले छाँगो, गुप्तेश्वर महादेव गुफा, सराङकोट, विश्व शान्ति स्तुप, पुम्दीकोटको विशाल महादेवको मूर्ती लगायत पोखरा आसपासका गन्तव्य भारतीय पर्यटकले गुल्जार छ ।

छोरेपाटनको गुप्तेश्वर महादेव गुफामा मात्रै दैनिक १ हजारको हाराहारीमा भारतीय पर्यटक पुगिरहेका छन् ।

गर्मी छल्न भारतबाट आएका कतिपय पर्यटलाई भने पोखरा पनि उस्तै गर्मी लागेको छ । शितल हावामा रम्न नपाएपछि उनीहरुको पोखरा घुमघाम अपेक्षाकृत भएको छैन । लखनउका मोहमद अमिनलाई सुनेको भन्दा पोखराको बसाई फरक अनुभूति भएको छ । उनले भने, ‘पहाड हो चिसो छ भन्ने सुनेको थियो । वास्तविक त्यस्तो रहनेछ । उता जस्तै गर्मी महसुुस भयो ।’

बर्खा लागेसँगै तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या नगन्य छ । चीन सरकारले लगाएको भ्रमण प्रतिबन्ध हटेसँगै छिटफुट चिनियाँ पर्यटक भित्रिएरहेका छन् । तर, भारतीय पर्यटकको संख्या भने उत्साहजनक छ ।

पोखरामा बढेको भारतीय पर्यटकको संख्याले व्यवसायीलाई राहत दिलाएको छ । कोरोनापछि भित्रिएका भारतीय पर्यटकको लर्कोले व्यवसायीमा आशाको संकेत गरिरहेको छ । होटलको अकुपेन्सी २५ प्रतिशतसम्म पुगेको पश्चिमाञ्चल होटल संघ पोखरा (हान) का अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

‘कोरोनापछि यति ठूलो संख्यामा भारतीय पर्यटक पाएका छौं’, उनले भने, ‘गर्मी छल्नका लागि वर्षभरीको उत्तम समय यही हो भन्ने हिसाबले भारतीय पर्यटकको चहलपहल छ ।’ भारतीय पर्यटकको संख्या उत्साहजनक बढ्नुमा ‘चलिए पोखरा’ अभियानले आकर्षित गरेको सुवेदीको ठम्याई छ । ‘हामीले यही बेलामा हरेक वर्ष चलिए पोखरा प्रबद्र्धनात्मक कार्यक्रम हरेक बर्ष गर्दै आइरहेको अवस्था छ । यो समय पनि जति सक्दो चाँडो भारतीय सहरमा गएर प्रबद्र्धन गर्नेछौं ।’

यही गतिमा भारतीय पर्यटक बढे लक्ष्य अनुसार पोखरा भित्र्याउन सफल हुने उनको दाबी छ । सन् २०२४ मा १२ लाख ६० हजार पोखरा ल्याउने लक्ष्य छ । गर्मी विदाले विद्यालय बन्द हुँदा आन्तरिक पर्यटक पनि बढेको हानका अध्यक्ष सुवेदीले बताए ।

पोखरा घुम्न आएका अधिकांश पर्यटक पर्वत, कुश्मा, बेनी हुँदै मुक्तिनाथसम्म पनि उक्लिरहेका छन् । पोखरा आइपुग्ने अधिकांश भारतीय पर्यटक स्थलमार्ग हुँदै आउने छन् । फर्कदा काठमाडौं र चितवन पुग्नेको संख्या पनि उत्तिकै छ । तर, सडकको दुरावस्थाले पर्यटकले बडो सास्ती खेप्नु परेको छ ।

 

प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०१:४४
हजुरको प्रतिक्रिया