२०८३ साउन २१ गते बिहीबार

गण्डकीको बजेटमाथि संसदमा छलफल सुरु (भिडियो)

गण्डकीको बजेटमाथि संसदमा छलफल सुरु (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ६ गते बुधबार ०९:५४

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि असार १ गते ल्याएको बजेटमाथि बुधबारदेखि संसदमा छलफल सुरु भएको छ ।

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि असार १ गते ल्याएको बजेटमाथि बुधबारदेखि संसदमा छलफल सुरु भएको छ ।

गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले कृषि, स्वास्थ्य, पर्यटनलाई जोड दिँदै भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

बजेटमाथि सुरु भएको छलफलमा प्रतिपक्षीले समृद्धिको आधार र लक्ष्य प्राप्तिको बाटो समाउन नसकेको भन्दै आलोचना गरेका छन् भने सत्ता पक्षका सांसदले जनताको जीवनसँग जोडिएको भन्दै प्रशंसा गरे ।

नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बजेटले जनताको जीवनस्तर उकास्नसमेत सहयोग पुग्ने बताए । सत्तापक्षका सांसदको भनाइ खण्डन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेकी एमाले सांसद सीता सुन्दासले परिणाममुखी बजेटको नारा लगाएर फेरि पनि वितरणमुखी बजेट ल्याइएको बताइन् । सुन्दासले प्रदेशले आफ्नो स्रोत बढाउने र प्रदेशको महत्व जगाउने कार्यक्रम ल्याउन नसकेको भन्दै बजेटको आलोचना गरिन् ।

राप्रपा सांसद विन्दु पहाडीले कृषि र स्वास्थ्यका क्षेत्रमा सरकारले राम्रा कार्यक्रम ल्याए पनि कार्यान्वयनमा शंकाको सुविधा उब्जिएको बताइन् । स्वास्थ्य क्षेत्रमा लोकप्रिय कार्यक्रम ल्याए पनि दीर्घकालीन सुधारलाई पछ्याउने संकेत नदेखाएको उनको भनाइ थियो । पहाडीले सरकारको ध्यान कसरी राजस्व बढाउनेभन्नेतिर ज्यादा गएको टिप्पणी गरिन् ।

नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका लिलबहादुर थापाले प्रदेशले संघ र स्थानीय तहसँग समन्वयकारी भूमिका खेल्ने गरी बजेट नल्याएको बताए । केन्द्रले ४/५ लाखका योजना दिएको र ठूलो गौरवका योजना चाहिँ काटिएको भन्दै थापाले स्थानीय तहसँग पनि समन्वय नभएको जिकिर गरे ।

नेकपा एमालेकै अर्का सांसद वेदबहादुर गुरुङले भौतिक पूर्वाधारमा ठूलो रकम राखेर कृषि, पर्यटन क्षेत्रको बजेट संकुचित बनाइएको बताए । सरकारले युवाको पलायन रोक्ने कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे ।

नेपाली कांग्रेस सांसद दिलमाया पौवीले बजेटले हरेक क्षेत्रका प्राथमिकता पहिल्याएको भन्दै कृषि क्षेत्रमा सुधारकै प्रयास गरिएको बताइन् । तर, कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दा सिचाइँलाई विशेष महत्व दिनुपर्ने उनको भनाइ थियो ।

कुनै पार्टी विशेष नभई समग्र प्रदेश र जनताकै हितलाई हेरेर बजेट ल्याएको अर्थमन्त्री जीतप्रकाश आलेको दाबी छ ।

बजेटमाथिको छलफललाई निरन्तरता दिन अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति २०८० असार ६ गते बुधबार ०९:५४
हजुरको प्रतिक्रिया