२०८३ साउन २१ गते बिहीबार

मौलिकता गुमेको कौराहा संरक्षणमा मगर समुदायको चासो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १२ गते मंगलबार ०७:१५

उसो त गाउँगाउँमा मौलिक कौराहाको अभ्यास नभएको पनि होइन । युवापूस्ताले सिक्न चाख नमान्दा कुनै समय लोप हुन्छ कि भन्ने चिन्ता मगर समुदायमा छ ।

पोखरा

शीरमा शीरपफूल, मखमलको चोली, छिटको गुन्यूमा सजिएका महिला । कमिज, आसकोट, भांग्रा, कछाड र टोपीमा ठाटिएका पुरुष ।

कौराहा नाच्न मंगलबार मगर समुदायका तन्नेरीदेखि बुढापाकासम्म पोखराको चाउथेमा भेला भए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले आयोजना गरेको प्रदेशस्तरीय मौलिक कौराहा सम्मेलनमा स्वरमा सुर मिसाए, खैजेडीको तालमा खुट्टाको ताल मिलाउँदै नाचे ।

मौलिकता हराउन थालेपछि संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियान मगर समुदायमा चलिरहेको छ । नयाँ पुस्ताले पनि चासो दिन थालेका छन् ।

कौराहामा रमाउन १९ वर्षीया पवित्रा थापा मगर पनि सम्मेलनमा उपस्थित भइन । उनले ३ वर्षदेखि कौराहा नाचिरहेकी छन् । उनी आफूमात्रै नाच्दिनन् अरुलाई पनि सिकाउछिन् ।

सिमा रानामगरले पनि कौराहा नाच्न सिकेको बल्ल ६ महिना भयो । सिकेपछि कौराहाप्रति उनको मोह जागेको छ । गाउँघरमा हुने कौराहामा पुगेर संगीनसँग खुट्टाको ताल मिलाउन तम्सिहाल्छिन् ।

पछिल्लो समय मौलिक कौराहा हराउँदै छ । प्रविधिको विकासले कौराहा आधुनिक बन्दैछ । मौलिकता जोगाउँदै नयाँ पुस्तालाई हस्तानतरण गर्न पूरानो पुस्ता तल्लिन रहेको नेपाल मगर संघ चाउथे इकाइकी अध्यक्ष सुनमाया आले मगरले बताइन् ।

उसो त गाउँगाउँमा मौलिक कौराहाको अभ्यास नभएको पनि होइन । युवापूस्ताले सिक्न चाख नमान्दा कुनै समय लोप हुन्छ कि भन्ने चिन्ता मगर समुदायमा छ । तनहुँ म्याग्देमा कौराहा नृत्यको नेतृत्व गरिरहेका यामबहादुर थापाले अब भने मौलिक कौराहा संरक्षण हुनेमा आफू ढुक्क रहेको बताउँछन् । बढी खर्र्चिलो कौराहा संरक्षणमा राज्यकै लगानी आवश्य रहेको मगर समुदायका अगु्वाहरु औल्याउँछन् । नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारा माया थापा मगरले राज्यको ठूलो लगानी कौराहा संरक्षणका लागि आवश्यक रहेको बताइन् ।

पछिल्लो पुस्ताले कौराहाको मौलिकतालाई भुल्दै गएपछि मौलिक कौराहा संरक्षण समिति नेपालले जोगाउन प्रयास निरन्तर गरिरहेको राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति अध्यक्ष हर्क आले मगरले बताए ।

कौराहा तनहुँसंगै आसपासका जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा बढी प्रचलित संस्कृति हो । यी जिल्लाका मगर समुदायमा प्रचलित मानिएको कौराहा पछिल्लो समय देशभरका आदीवासी जनजातीले अंगालेका छन् । तनहुँको ऋषिङ कोटदरबारबाट करिब अढाई सय बर्ष अगाडी कौराहको सुरुवात भएको जानकारहरु बताउँछन् । कानराहबाट अप्रभंस भई कौराहा भयो । अझै कतिपयले कौरा, कौडा पनि भन्छन् ।

मेला, महोत्सव, साँस्कृतिक कार्यक्रममा कौराहा गाउने नाच्ने प्रचलन बढ््दो छ । यस्ता कार्यक्रममा प्रस्तुत कौराहाले संस्कृति चिनाउन सघाउ पु¥याएपनि मौलिकता भने उतिसारो झल्कदैन । डिजिटल बजारमा उपलब्ध अधिकांश कौराहाले मौलिकतालाई न्याय गर्दैनन् ।

 

प्रकाशित मिति २०८० असार १२ गते मंगलबार ०७:१५
हजुरको प्रतिक्रिया