पोखरा
मनसुन भित्रिएसँगै किसान धान रोपाईंमा व्यस्त छन् । रोपाईंको बेला हुने रासायनिक मलको हाहाकार यो वर्ष अहिलेसम्म देखिएको छैन । तर, सहकारीले विचौलियाको भुमिका खेल्दा किसान तोकिएको भन्दा बढी मूल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन् ।
पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले हेम्जामा युरिया मलको मूल्य प्रतिकेजी २० रुपैयाँ तोकेको छ । प्लास्टिकको २ रुपैयाँ जोडर किसानसँग विक्रेताले २२ रुपैयाँसम्म किसानसँग लिन पाउँछन् ।
पोखरा महानगरपालिकासँग अनुदानको रासायनिक मल विक्री गर्न अनुमति लिएका सहकारीले कमिसनको चक्करमा विचौलिया बनेर व्यक्तिलाई डिपो सञ्चालन गर्न दिएपछि किसान तोकिएको भन्दा बढी मुल्य तिरेर मल खरिद गर्न बाध्य भएका हुन् ।
किसानसँग युरिया मलको २५ रुपैयाँसम्म लिने गरेको बुधबार पोखरा महानगरपालिकाले गरेको अनुगमनमा खुलेको हो । उपप्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिले हेमजा र बगरको आधा दर्जन रासायनिक मल बिक्री केन्द्र र एग्रोभेट सेन्टरको अनुमगन गरेको छ ।
अनुमगनमा सबैले तोकेको मुल्य भन्दा बढी किसानसँग लिएको पाइएको महानगरका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । राज्यले नागरिकलाई दिएको अनुदानको मल दुरुपयोग हुन नहुने उनको भनाइ छ ।
मापदण्ड पूरा नगरेका रासायनिक मल विक्रेतालाई महानगरले दर्ता, नवीकरण, विषादी बिक्रीको अनुमति, मौज्दात र हिसाब–किताबको कागजपत्रसहित हाजिर हुन निर्देशन दिएको छ । महानगरले ६९ सहकारी र कृषक समूहलाई अनुदानको रासायनिक मल बिक्री गर्ने अनुमति दिएको छ ।
पोखरा महानगरपालिकाले जेठको पहिलो साता लेखनाथ क्षेत्रमा रासयनिक मल बिक्री गर्ने सहकारीको अनुगमन गर्दा सहकारीले कमिसन लिएर व्यक्तिलाई मलको डिपो राख्न दिएको खुलेको थियो ।
प्रकाशित मिति २०८० असार १३ गते बुधबार ०५:५०




