बर्खा ढिलो हुँदा बल्ल ३० प्रतिशत रोपाइँ
पोखरा
१८ वर्षदेखि निरन्तर पोखराका फरकफरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखरा–१३, कसेरी फाँटमा गरिएको छ ।
स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो ।
पर्यटनको ‘अफसिजन’ मानिने बर्खामासमा पनि विदेशी पाहुनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम अहिले महोत्सवकै रुपमा अघि बढेको महोत्सवका संयोजक कृष्ण भण्डारीले बताए ।
‘कृषि उत्पादनलाई बढावा एकातिर छ । अर्कोतिर यसको मुख्य उद्देश्य भनेकै पर्यटन प्रवद्र्धन हो । पोखरा सबै मौसमका लागि भन्ने नारासहित हामीले यो महोत्सव गरेका हौं,’ भण्डारीले भने, ‘अफसिजनमा पनि पर्यटक तान्ने गरी पहिचान बनाउन महोत्सव सफल छ ।’
आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बर्सेनि फरकफरक ठाउँमा महोत्सव गर्र्दै आएकोमा यसपटक ‘रोयल ट्रेक’को प्रवेशद्वारमा आयोजना गरिएको बताए ।
उनले बर्सेनि गरिने रोपाइँ महोत्सवले विदेशी पाहुना तान्न सफल भएको बताए ।
पोखरा महानगर मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय कृषि उत्पादन क्षेत्र घटिरहे पनि महोत्सवले उत्पादनसहित पर्यटनलाई टेवा पु¥याइरहेको बताए ।
उनले पोखरा महानगरको अधिकांश भाग अझै पनि कृषि भूभाग रहेकाले कृषिमै आत्मनिर्भर बनाउने गरी महानगरले कार्यक्रम ल्याएको सुनाए ।
‘कुनैबेला पोखराका फाँटहरुमा धान उत्पादनमा चर्चित थिए । अहिले घटिरहेको छ । तर, खेती गर्ने जमिन नै नभएको भने सत्य होइन,’ मेयर आचार्यले भने, ‘महानगरले पनि पोखरेली जेठो बुढो, चैते धानलगायत उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याएको छ । कम्तिमा कृषिमा पोखरालाई आत्मनिर्भर बनाउने योजना छ ।’
महोत्सवका अवसरमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको थियो भने आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता आदि गरिएको थियो ।
रोपाइँ सकिनेबेला बल्ल ३० प्रतिशत धान रोपाइँ
मनसुन ढिलो भित्रिएका कारण अघिल्लो वर्षको तुलनामा यसवर्ष कम क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र कास्कीले जानकारी दिएको छ ।
असार १५ गतेसम्म कास्कीमा जम्मा ३० प्रतिशतमात्रै रोपाइँ भएको ज्ञान केन्द्रकी सूचना अधिकारी मञ्जु अधिकारीले जानकारी दिइन् ।
अघिल्लो वर्ष असार १५ गतेसम्म कास्कीका करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको अधिकारीको भनाइ छ ।
‘यो वर्ष पानी नै ढिलो प¥यो । अहिले बल्ल पर्न थालेको छ । कतिपय ठाउँमा त अझै पनि पर्याप्त पानी नहुँदा रोपाइँ नै सुरु हुन सकेको छैन,’ अधिकारीले भनिन्, ‘अघिल्लो वर्षभन्दा यो वर्ष अल्लि ढिलो हुने भयो ।’





















प्रकाशित मिति २०८० असार १५ गते शुक्रबार ०३:२१




