पाेखरा । कास्कीको मादी गाउँपालिकाले १ घर १ पिसिआर परीक्षण गर्ने भएको छ ।
मंगलबार बसेकाे स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसकाे संक्रमण दर उच्च रहेका ठाउँ तथा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हाे । कोरोना भाइरस संक्रमण समुदायस्तरमा समेत फैलिन थालेसंगै गाउँपालिकाले संक्रमण बढी फैलिएको स्थानहरुमा १ घर १ पिसिआर गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएकाे छ ।
बैठकले तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै कार्तिक २६ गतेबाट मंसिर २ गतेसम्मका लागि सार्वजनिक यातायातका साधनहरु (भाडाका बस तथा जीप) सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ । अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी गर्ने गाडी, सरकारी गाडी र निजी सवारी आवागमनलाई भने सहजीकरण गरेर चल्न दिइनेछ ।
गाउँपालिकाले तिहारमा सञ्चालन हुने देउसी भैलो कार्यक्रममा समेत रोक लगाएको छ । त्यस्तै कार्तिक २६ गतेबाट लागू हुने गरेर मंसिर ५ गतेसम्मका लागि गाउँपालिकाका विभिन्न स्थान सिल गरिने भएको छ ।
‘मिति २०७७ कार्तिक २६ गतेबाट मंसिर ५ गतेसम्मका लागि कोरोना भाइरस संक्रमणको दर अत्याधिक रहेका, संक्रमणको उच्च जोखिम रहेका वडा नम्बर ९ को नयाँबजार, वडा नम्बर १० को थुम्सिकोट, वडा नम्बर ११ को भगवती बजार, वडा नम्बर १२ को घुम्लेबजार तथा वडा नम्बर १२ को भगवतीटार क्षेत्र सिल गरिने छ ।’ अध्यक्ष बेद बहादुर गुरूङद्वारा हस्ताक्षरित गाउँपालिकाद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
कार्तिक २६ गतेबाट नै मंसिर २ गतेसम्मका लागि गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा प्रवाह पनि बन्द हुने भएको छ । त्यस्तै विद्यालयहरुमा सञ्चालन भएको शिक्षण सिकाई कार्यक्रम मंसिर ६ गतेसम्म बन्द गर्ने गाउँपालिकाको बैठकले निर्णय गरेको छ । गाउँपालिकाभत्रि पर्यटकीय क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको छ ।





