उपाधिका लागि मलेसियासँग खेल्ने
पोखरा
सिंगापुरलाई पराजित गरेर नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । सिंगापुरका अन्य १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान ११ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
नेपालका ओपनर सुर्यांशु कोईरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए । जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ ।
पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि मंगलबार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ ।
प्रकाशित मिति २०८० असार १८ गते सोमबार ०३:१९



