वडाध्यक्ष गुरुङको स्पष्टिकरणः धकेलाधकेल भएको हो, हातपात होइन
पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङले स्थानीय एक आयोजनाका उपभोक्ता समिति अध्यक्षमाथि हातपात गरेको भन्दै वडा कार्यालयमा सोमबारदेखि तालबन्दी गरिएको छ ।
वडा कार्यालयमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ नेकपा एमालेको वडा कमिटीले तालाबन्दी गरेको हो ।
वडाध्यक्ष गुरुङले पटकपटक हातपातमा उत्रिने गरेको र स्थानीय जनप्रतिनिधिबाटै असुरक्षित भएको भन्दै कारवाहीको माग गर्दै तालबन्दी गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले नेता कर्णबहादुर गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङलाई कारवाहीका लागि जिल्ला प्रशासनमा उजुरी दर्ता गर्न जाँदा दर्ता गर्न नमानेका गुरुङले जानकारी दिए ।
‘वडाध्यक्षबाट बाटो उपभोक्ता समिति अध्यक्ष कुटपीट भएको छ । कारवाहीका लागि उजुरी दिन जाँदा उहाँहरुले दर्ता गर्न मान्नु भएन । त्यसैको दबाबका लागि तालबन्दी गरिएको हो,’ उनले भने ।
वडाध्यक्ष गुरुङमाथि पटकपटक कुटपीट गर्र्द आएको आरोप लागेकाले राजीनामा दिनुपर्ने नेकपा एमालेको माग छ । ‘जनताको सेवा गर्न गएको जनप्रतिनिधि नै हातपातमा उत्रिएपछि कारवाही हुनुपर्छ कि पर्दैन ?’ गुरुङको प्रश्न छ ।
उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले वडाध्यक्ष गुरुङले आफूलाई अपशब्द बोल्दै हातपात गरेको जानकारी दिए ।
‘राम गुरुङ, वार्ड नं. ८ को वडाध्यक्ष माथि पुल (सडक आयोजना नजिकै पुल छ) बाटै रफ शब्द बोल्दै को हो, के हो ? भनेर भन्नुभयो,’ बाइकबाट बीच बाटोबाटै ‘यहाँ आइज’ भनेर भन्नुभयो ।’
भण्डारीले अगाडि भने, ‘म ‘मामा के भयो ? भन्दै गएको थिएँ । त्यहीं बीच बाटोमै कुटपीट गर्नुभएको हो । मलाई गालामै हान्नुभएको हो । देख्ने प्रत्यक्षदर्शीहरु छन् । अब उहाँलाई कारवाही गर्नुप¥यो भन्ने मेरो माग हो ।’
वडाध्यक्ष गुरुङ भन्छन्ः पटकपटक सम्झाउँदा पनि काम भएन, पिटेको होइन
चैतको दोस्रो साता नै उपभोक्ता समिति गठन भए पनि वडामा सम्झौता गर्न नगएपछि आफूले फोनमार्फत पटकपटक जानकारी दिएको वडाध्यक्ष राम गुरुङको दाबी छ ।
‘जेठमा आएर बल्ल उहाँ सम्झौता गर्न आउनुभो । वडाबाट सम्झौता भइसकेपछि काम सुरु भयो होला भनेर हेर्न जाँदा केही पनि भएको थिएन,’ उनले भने, ‘यस विषयमा मैले पटकपटक फोनमार्फत जानकारी दिइसकेको थिएँ ।’
आर्थिक वर्षको अन्त्यसम्म पनि काम नसकिने देखेपछि आफूले पटकपटक काम छिटो सक्न आग्रह गर्दा पनि अटेरी गरेपछि ‘चासो दिएको’ वडाध्यक्ष गुरुङको जिकिर छ ।
उनले भने, ‘बारम्बार ताकेता गर्दा पनि काम भएन । पछि बाहिर सुन्दा आफ्नो मनखुसीले अर्कोलाई ठेक्का दिएको सुनें । त्यसमा मेरो वडाको काम हुनुपर्छ भनेर चासो दिने नै भएँ ।’
वडाध्यक्ष गुरुङले अगाडि थपे, ‘आर्थिक वर्षको अन्त्य हुन लागिसक्यो । काम ३० प्रतिशत पनि सकिएको छैन । हामी योजना माग गर्न दौडधूप गर्ने, आएको योजना पनि फ्रिज हुने हो कि भन्ने डर लागेकाले अस्तिको घटना घट्यो । त्यतिबेला मेरो मुखबाट अलि बोल्न नमिल्ने शब्द फुट्केकै हो । मबाट पनि गल्ति भएकै हो । अलिकति घचेटाघचेट भएकै हो । तर, उहाँले भनेजस्तो कुट्यो, लखेट्यो भन्ने होइन ।’
आफूमाथि हातपात भएको भन्दै उपभोक्ता समिति भण्डारीले आइतबार नै दिन जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएका थिए ।
वडाध्यक्ष गुरुङ आफू छलफलका लागि तयार रहेको र घटनालाई राजनीतिकरण नगर्न आग्रह गरे ।
वडाध्यक्ष गुरुङ यसअघि फागुनमा मात्रै उनले वडामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर लक्ष्मण जिसीमाथि समयमै योजनाको स्टिमेट नगरी आलटाल गर्दै आएको आरोपमा हातपात गरेका थिए ।
प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत खोराको मुखदेखि उपल्लो इदी खोलासम्मको मोटरबाटो स्तरोन्नतिको काम भइरहेको छ । उक्त बाटो स्तरोन्नति गर्न प्रदेश सरकारबाट २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।
सडक स्तरोन्नति गर्न चैत १४ गते उपभोक्ता समिति गठन भएको थियो । उक्त बाटोले वडा नं. ७ र ८ दुवै छुने भएकाले वडा नम्बर ७ बाट उपभोक्ता समितिको अध्यक्षमा अमृत भण्डारी चुनिएका थिए ।
प्रकाशित मिति २०८० असार १९ गते मंगलबार ०५:२८



