२०८३ साउन २१ गते बिहीबार

एसईईको नतिजा आज साँझ सार्वजनिक हुँदै

एसईईको नतिजा आज साँझ सार्वजनिक हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २१ गते बिहीबार १२:०४

पोखरा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आजबेलुकासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा...

पोखरा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आजबेलुकासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि झन्डै सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गएको चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।

एसईईको नतिजा थाहा पाउन १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइटwww.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति २०८० असार २१ गते बिहीबार १२:०४
हजुरको प्रतिक्रिया