अब सांसदको नयाँ लोगो बन्ने
पोखरा
गण्डकी प्रदेश सभाका सदस्यको प्रतीक चिन्ह ९लोगो० परिवर्तन भएको छ । पहिलेको लोगोबाट गैंडा, मृग, डाँफे, लालिगुराँस, नदी लगायत चिह्न हटाएर नयाँ लोगो बनाइएको हो ।
प्रदेश सभा नियमावली शुक्रबार गण्डकी प्रदेश सभाको बैठकबाट पारित भएसँगै पुरानो लागोको सट्टामा नयाँ बन्ने भएको छ । पहिलेको लोगोमा हरियो रङ बढी प्रयोग गरिएको थियो । अहिले माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिका राखेर पहेंलो र खरानी रङ बढी प्रयोग गरिएको छ । सुनौलो नेपालको नक्सामा गण्डकी प्रदेशलाई खरानी रङमा चिनाउँदै त्यसमाथि नेपालको झण्डा राखिएको छ । सुनौला धानका बाला, दुई हात र निलो आकास लोगोमा प्रयोग गरिएको छ ।
प्रदेश सभा सञ्चालनका लागि नयाँ नियमावली बनाउन विन्दुकुमार थापाको संयोजकत्वमा गत फागुन १० गते ११ सदस्यीय मस्यौदा समितिले बुझाएको प्रतिवेदन शुक्रबार संसदबाट पारित भएको हो ।
नियमावलीले गण्डकीका ४ सदस्यीय समितिलाई नै यथावत राखेर विधायन समिति खारेज गरेको छ भने अन्य समितिको क्षेत्राधिकार परिवर्तन गरिएको छ । यसअघि जुनसुकै मन्त्रालयगत विधेयक पनि विधायन समितिमात्र मात्र जाने व्यवस्थाले अन्य समिति र त्यसका सदस्य सांसदको भूमिका नदेखिएको आवाज उठ्दै आएको थियो ।
नियमावली मस्यौदा समितिले पुरानो व्यवस्थालाई हटाएर सबै समितिमा जाने गरी क्षेत्राधिकार तोकेको हो । अब सार्वजनिक लेखा, अर्थ तथा विकास, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहने छ ।
नयाँ व्यवस्थाअनुसार अब प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रश्नोत्तर चल्ने भएको छ । संसदमा मुख्यमन्त्रीसँग सांसदको प्रश्नोत्तरका लागि प्रश्न सोध्न चाहने सांसदले ३ दिनअगाडि नैसचिवालयमा प्रश्न पेश गर्नुपर्ने हुन्छ । १५ वटाभन्दा बढी प्रश्न गर्न नपाउने र महिनाको पहिलो हप्तामा सभामुखले कुनै एक दिन एक घन्टाका लागि प्रश्नोत्तरको समय तोक्न सक्ने व्यवस्था गरिएको छ ।
अब उपसभामुखले पनि संसदको अधिवेशनको प्रारम्भ र अन्त्य गर्न सक्ने व्यवस्था लागु हुने भएको छ । यसअघि सभामुखले मात्र संसद अधिवेशन प्रारम्भ र अन्त्य गर्न सक्ने व्यवस्था थियो ।
प्रकाशित मिति २०८० असार २३ गते शनिबार ०८:१७




