पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण शिशुको ज्यान जोखिममा परेको भन्दै सोमबार पीडित परिवारले प्रशासन गुहारेका छन् ।
असार २८ गते सुत्केरी गराउन ल्याएकी पोखरा १७ कि मोगादेवी पोखरेलकी नवजात शिशुलाई ४ दिनसम्म भेन्टिलेटरमा राखिएको र अवस्थाबारे जानकारी नदिइएको भन्दै उनका परिवारले सोमबार प्रतिष्ठान प्रमुख भरत खत्रीलाई भेटेर उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्न माग गरेका हुन् ।
९ महिनासम्म नियमित चेकजाँच गरेको र सुत्केरी हुनेबेलासम्म स्वस्थ अवस्था रहे पनि डेलिभरीको समयमा गल्ती गर्दा शिशुको मृत्यु भइसकेको आशंका परिवारको छ ।
‘बच्चा जन्मिनुभन्दा केही मिनेटअगाडिसम्म सबै ठिक छ । बच्चाको हर्टबिट १३० छ भनेर भने । तर, जन्मिँदा पूरै निलो थियो,’ मोगादेवीका श्रीमान रमेश पौडेलले भने, ‘त्यसपछि भेन्टिलेटरमा लगेर अहिलेसम्म हामीलाई जानकारी दिएका छैनन् ।’
परिवारका अनुसार मोगादेवीलाई सुत्केरीका लागि असार २६ गते समय दिइएको थियो ।
उक्त दिन अस्पताल पुगेर परीक्षण गर्दा ड्युटीमा रहेका चिकित्सकले डेलिभरी गर्ने समय नभएको भन्दै फेरि ५ दिनपछि आउनू भन्दै घर फर्काएको उनीहरुले बताए ।
‘तर, घर फर्किएको २ दिनमै गाह्रो हुन थाल्छ र हतारमै अस्पताल ल्यायौं, त्यतिबेलासम्म सबै ठिक थियो,’ श्रीमान पौडेलले भने ।
अस्पताल भर्ना भएको २४ घन्टापछि असार २९ गते पौने १० बजे मोगादेवीले छोरी जन्म दिएको तर, जन्मिँदा नै अचेत अवस्थामा रहेको दाबी परिवारको छ ।
उनीहरुले शिशुको अवस्थाबारे जानकारी लिन खोज्दा आफूहरुमाथि दुव्र्यवहार भएकोसमेत आरोप लगाएका छन् ।
प्रतिष्ठान प्रमुख भरत खत्रीले बच्चाको अवस्था क्रिटिकल रहेको र बाँकी घटनाबारे छानविन हुने जानकारी दिए । धेरै संख्यामा उपचारका लागि आउँदा केहीमा ‘दुर्घटना’ हुन सक्ने उनको जवाफ छ ।
‘कहिलेकाहीं यस्तो घटना घट्छ । तर, हामी पनि यसबारे छानविन गछौं । गल्ती प्रमाणित भए कारवाही हुन्छ,’ उनले भने ।
गण्डकी अस्पतालमा जेठ २९ गतेमात्रै सुत्केरी गराउने क्रममा आमा र शिशु दुवैको ज्यान गएको थियो ।
तनहुँदेखि सुत्केरी गराउन आएका आमा र शिशु दुवैको मृत्यु भएपछि अस्पताल परिशरमा तनाव उत्पन्न भएको थियो ।
प्रकाशित मिति २०८० साउन १ गते सोमबार ०८:०६



