२० महिना बसेर रविलाल सरुवा हुँदा लक्ष्मी बस्नेत आउँदै
पोखरा
संघीयता कार्यान्वयसँगै गण्डकी प्रदेशमा छैटौं वर्षमा ८ जना सचिव फेरिएका छन् । सुरुमा वर्ष दिन पनि नबसी सरुवा हुने गरेकोमा यसपटक २० महिना प्रमुख सचिव बनेर रविलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।
२० महिना प्रमुख सचिवको रुपमा काम गरेका नेपाल सरकारका सचिव रविलाल गण्डकी प्रदेशका यस्ता पात्र बनेको छन्, जो संघीयता कार्यान्वयनपछि सबैभन्दा लामो बसे । उनीसँगै संघीयता कार्यान्वयनमा आएपछि गण्डकीमा ८ जना सचिव फेरिएका छन् । गण्डकीको सातौं प्रमुख सचिव बनेर आएका रविलालले २०७८ मंसिर १ गते पदभार गरेका थिए । पृथ्वीसुब्बा नेतृत्वको सरकारका पालामा मात्रै ६ जना सचिव फेरिए । तर, त्यसयताका कृष्णचन्द्र नेपाली पोखरेल, खगराज अधिकारी र सुरेन्द्र पाण्डेसम्म ३ वटा सरकारको प्रमुख सचिव बने ।
तत्कालीन क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले नै सुरुमा गण्डकी प्रदेशको प्रमुख सचिव बनेर मन्त्रालयदेखि आवास र मातहतका कार्यालय व्यवस्थापनसम्मको नेतृत्व लिएका थिए । १८ माघ २०७४ सालमा नियुक्त भएर ६ असार २०७५ सम्म प्रमुख सचिवको रुपमा झण्डै ५ महिना काम गरे । गण्डकीमा सबैभन्दा कम समय प्रमुख सचिव भएर बस्ने व्यक्ति हुन्, नारायणप्रसाद बिडारी । उनी जम्मा २ महिनामात्र रहे । ६ असार २०७५ मा हाजिर भएर १२ भदौमा उनको सरुवा भएको थियो । उनीपछि २०७५ भदौ १४ गते लक्ष्मीराम पौडेल हाजिर भएका थिए । उनी ५ वैशाख २०७६ सालसम्म प्रमुख सचिव रहे ।
१ वर्ष पनि पूरा नहुँदै लक्ष्मीरामको ठाउँमा प्रमुख सचिवको रुपमा हरिप्रसाद बस्याल आए र उनी भने करिब १६ महिना काम गरेर विदा भए । बस्याल बिदा भएको भोलिपल्ट १२ साउन २०७७ मा विष्णुप्रसाद नेपाल प्रमुख सचिव बनेर आए । उनी २ चैत २०७७ मा अवकास लिएर नेपाल गण्डकी प्रदेशकै लोकसेवा आयोगको अध्यक्ष बने । २८ असार २०७८ मा हाजिरी लिएका दामोदर रेग्मी ३० कात्तिक २०७८ मा सरुवा भएपछि रविलाल प्रमुख सचिव बनेर आएका थिए । छिटो छिटो सचिव र सहसचिव, उपसचिवहरु सरुवा हुने, प्रदेशमा आउनै नमान्ने र आइहाले पनि कम अनुभव भएका आउने गर्दा प्रदेशले गति नै लिन नसकेको पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आक्रोस पोख्ने गरेका थिए । हुन पनि उनको झण्डै साढे ३ वर्षको कार्यकालमा ६ जना सचिव फेरिएका थिए ।
रविलाल पन्थको ठाउँमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहसचिवबाट सचिवमा बढुवा भएकी लक्ष्मी बस्नेतले गण्डकीको आठौं प्रमुख सचिवका रुपमा पदभार सम्हाल्ने छिन् । सरकारले बुधबार पाँच जना सचिवको सरुवा र दुई जना हालै बढुवा भएका सचिवको पदस्थापन गरेको हो ।
प्रकाशित मिति २०८० साउन ५ गते शुक्रबार ०६:४१




