काठमाडौं । लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भन्दै १५ जना भन्दा बढी व्यक्तिलाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी न.पा. वडा नं. १३ एकान्तकुना घर भएका ३० वर्षे सम्राट, समिर, रागब भन्ने राजु परियार र काठमाडौं का.म.न.पा. वडा नं. १४ कलंकी सुनारगाउँ बस्ने ३६ वर्षे ब्रम्हा रिसाल रहेका छन् ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको भन्दै लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने, प्रदूषण जाँचपास गराई दिने लगायतका कार्यहरू गरी दिन्छु भनि विश्वास दिलाई पीडितहरूबाट नगद तथा सुनको औठी समेत जबरजस्ती लिई चार लाख तीस हजार बराबरको रकम ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
राजु परियारलाई ललितपुर महालक्ष्मी न.पा. वडा नं.७ लुभुबाट र ठगी गरी लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक ब्रम्हा रिसाललाई गत साउन ७ गते काठमाण्डौ कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११.६८० ग्राम सहित पक्राउ गरिएको रिसाल र परियारलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाईएको छ ।
प्रकाशित मिति २०८० साउन ८ गते सोमबार ०२:४९




