अन्नपूर्ण(लुम्ले)
नेकपा एमालेका उपमहासचिव एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले पार्टी खुल्दैमा नयाँ नहुने बताएका छन् । ‘पार्टी खुल्दैनमा नयाँ हुँदैन,’ उनले भने,‘नवीनतम् विचार र सिद्धान्तले पार्टी नयाँ हुनु पर्दछ ।’
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा आयोजना गरेको गण्डकी स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले समृद्धिको अभियान बोक्ने पार्टी एमाले भएको दाबी गरे । समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्यारउन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
‘पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो,‘उनले भने,‘ समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ ।’ उनले अहिलेको गठबन्धन सरकार उद्देश्यविहीन रहेको जिकिर गरे । ‘विचार विहीन गठबन्धनमा न माओवादी, माओवादी जस्तो देखिन्छ न नेपाली कांग्रेस, कांग्रेस जस्तै देखिन्छ, यो सरकारबाट समृद्धि सम्भव छैन ।’ सत्ताको लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने उनको ठोकुवा छ ।
गण्डकी स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एक निर्वाचन क्षेत्रबाट एक जना र जिल्ला कमिटीबाट एक जना गरी ४७ जनाको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा एमालेका नेताहरु प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने लगायतले गरी १० वटा विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य केशव आचार्यले जानकारी दिए ।
प्रकाशित मिति २०८० साउन १० गते बुधबार ११:११




