२०८३ साउन २१ गते बिहीबार

‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ मा पोखरा महानगरले लगाइदिएको ताला खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १२ गते शुक्रबार ०७:०४

घर धनीले सम्पत्ति कर नबुझाएकोे र सबै पसल दर्ता नभएको भन्दै महानगरले ताला लगाएको थियो ।

चौतर्फी आलोचनापछि २ दिनमै पसल दर्ता

पोखरा

नेपालमै उत्पादित १० वटा ब्रान्डका जुत्ता एउटै छातामुनि बेच्ने गरी सञ्चालनमा आएको पोखरा फुटवेयर बिजनेस सेन्टर’ मा पोखरा महानगरले लगाएको ताला बिहीबार खुलेको छ ।

कानुनी प्रक्रिया नपुगेको भन्दै गत शुक्रबारमात्र उद्घाटन गरिएको बिजनेस सेन्टरमा ३ दिनअघि पोखरा महानगरले बिना सूचना सनकको भरमा ताला लगाएको थियो । बिना सूचना छापामार शैलीमा मेयर धनराज आचार्यको मौखिक निर्देशनमा महानगरले ताला लगाएको भन्दैै चौतर्फी आलोचना भएको थियो ।

घर धनीले सम्पत्ति कर नबुझाएकोे र सबै पसल दर्ता नभएको भन्दै महानगरले ताला लगाएको थियो । तर, १० वटै कम्पनी दर्ता गर्नका लागि फाइल बुझाए पनि एउटामात्र कम्पनी दर्ता गरिदिएको र पोखराका अन्य व्यवसायीको स्वार्थमा आएर बन्द गराइएको सञ्चालकहरुको आरोप थियो । महानगरले दर्ताका लागि दिएको निवेदन तामेलीमा राखेर व्यवसायीलाई हतोत्तसाही बनाउने काम गरेको सञ्चालकहरुको आरोप थियो ।

वडा नम्बर ८ का अध्यक्ष रुदद्रनाथ बरालले भने दर्ता प्रक्रियामै रहेको र महानगरले कुन आधारमा बन्द गराएको आफूलाई थाहा नभएको बताएका थिए ।

यसअघि दर्ता नभएकै कारण महानगरले बन्द गराएको चौतर्फी आलोचना भएपछि २ दिनभित्रै महानगरले दर्ता प्रक्रिया पूरा गरिदिएपछि बिहीदेखि सञ्चालनमा आएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भने कानुनी प्रक्रिया पूरा नभएकै कारण बन्द गराइएको बताएका छन् ।

प्रकाशित मिति २०८० साउन १२ गते शुक्रबार ०७:०४
हजुरको प्रतिक्रिया