आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने
पोखरा
लम्पी स्किन रोगले पशु चौपाया मरेर पीडित भएका किसानलाई राहत दिने तयारी सरकारले गरेको छ । महामारीका रुपमा देशव्यापी फैलिएको उक्त रोगबाट पीडित बनेका किसानलाई राहत दिन आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट आवश्यक निर्णय गर्ने तयारी गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री प्रचण्डले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिएका हुन् । राहतको मोडालिटीका बारेमा आवश्यक प्रस्ताव तयार पारेर ल्याउन प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर कूल ११ लाखभन्दा बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये ८ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । करिब एक लाख ८१ हजार पशु चौपायासङ्क्रमित छन् ।
पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको र यसबाट समग्रमा एक खर्ब बराबरको क्षति भएको बताइएको छ । यही रोगले ठूलो मात्रामा गोरु मर्दा कतिपय ठाउँहरुमा धान रोपाइँसमेत प्रभावित भएको छ । लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानहरु आक्रोशित छन् । पशुपालक किसानहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन माग गर्दै आन्दोलन समेत गरेका छन् । पोखरामा पनि किसानले उचित क्षतिपूर्तिको माग राखेर सडक आन्दोलन गरेका थिए ।
प्रकाशित मिति २०८० साउन १६ गते मंगलबार ०७:५८




