बढी मेहनत गर्नु नपर्ने तर हरेक भूगोलमा फल्ने कोदो नेपालमा उपेक्षित बालीमा पर्छ । हिमालदेखि तराईसम्म हुने कोदो औषधीय गुणले भरिपूर्ण भएपनि महत्वमा नपर्दा यस्को गुण ओझेलमा पर्दै गएको छ । तर संयुक्त राष्ट्रसंघले नै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष मनाउने घोषणा गरेपछि नेपाल सरकारले पनि सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेटसम्म पनि यस्को बारेमा व्यवस्था गरेको छ । कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा बिभिन्न कार्य पनि सरकारले थालेको छ ।

कोदो उत्पादनमा नेपाल विश्वको १३ औं स्थानमा पर्छ । पछिल्लो तथ्यांक अुनसार नेपालमा सन् २०२० मा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो । तर पनि नेपाल अझै पनि कोदो आयात गर्ने मुलुकमा पर्छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर सरकारले अनुदानसहितका कार्यक्रम सञ्चालन गरेकाे बताए । यस वर्ष १ सय ६७ गाउँपालिकामा कोदोजन्य बाली प्रवर्धन भइरहेकाे उनले उल्लेख गरे ।

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख समेत रहेका श्रेष्ठले कोदो र फापर जस्ता खाद्यान्नको अभावमा महिलाहरुले आइरन चक्की खानु पर्ने अवस्था आएको बताए । उनले मोबाइलमा अल्मलिएका बालबालिकालाई बजारमा पाउने चाउमिन भन्दा कोदो र फापरबाट बनाइएका खिर, विस्कुट, पिज्जा खुवाउन सकिए उनीहरुको भविष्य स्वास्थ्यको दृष्टिकोणले पनि सुरक्षित हुने बताए ।
नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ । कोदोबाट बनेको घरेलु मदिरा ‘तीनपाने’ नामले प्रख्यात छ । तर कोदोको महत्व नबुझनेहरु भने एकले अर्कालाई गाली गर्दा पनि ‘कोदे’ भन्ने चलन समाजमा व्याप्त छ ।
प्रकाशित मिति २०८० साउन १६ गते मंगलबार १२:५५




